हरेक खेलाडीको लक्ष्य हुन्छ, खेल जीवनमा सबै खाले सफलता प्राप्त गर्ने। आफूले खेलेका खेलसँगै जोडिएका सफलतामा आफ्नो नाम जोड्न ती खेलाडीले कयौं संघर्ष गरेका हुन्छन्। त्यसैले कमै मात्र खेलाडीले मुखैमा आएका सफलता छोड्छन् होला।
यद्यपि, नेपालका रग्बी खेलाडीका लागि अलि फरक नै रह्यो। महिला र पुरुषतर्फ रग्बीको राष्ट्रिय टोलीका खेलाडी फरक देखिए। अहिले नेपाली खेलकुद ऐतिहासिक बृहत् प्रतिस्पर्धा गण्डकी प्रदेशका विभिन्न जिल्लामा चलिरहेको छ। जहाँ ४१ वर्षको इतिहास बोकेको राष्ट्रिय खेलकुदमा रग्बीले डेब्यु गर्यो र प्रतिस्पर्धा पनि सकियो। बुधबार मात्र रग्बीमा पुरुष र महिला दुवैको फाइनल भयो। नवौं संस्करणमा रग्बीको महिलामा त्रिभुवन आर्मी र पुरुषमा सशस्त्र प्रहरी बल च्याम्पियन बने।
वि.सं. २०३८ सालदेखि सुरु राष्ट्रिय खेलकुदमा रग्बीको प्रतिस्पर्धा सम्पन्न हुँदा राष्ट्रिय टोलीका १३ खेलाडी भने प्रतिस्पर्धामा उत्रिएनन्। राष्ट्रिय खेलकुद नै राष्ट्रिय टोलीका सदस्यले खेलेनन् भन्दा अनौठो लाग्न सक्छ। तर, यसको किस्सा अलि फरक छ। हुन त देशकै यति ठूलो प्रतिस्पर्धामा सहभागी हुन सबै खेलाडी चाहन्छन्। तर, महिला र पुरुषका कप्तान तथा उपकप्तानसहित ती खेलाडीले किन राष्ट्रिय प्रतियोगिता खेलेनन् भन्ने प्रश्न उठ्न सक्छ। नवौं राष्ट्रिय खेलकुदमा रग्बी पनि समावेश भयो भन्ने समाचार आउँदा यी खेलाडी पनि धेरै खुसी थिए।
नेपाली राष्ट्रिय रग्बी टोलीका कप्तान कृष्ण क्षत्रीलाई त करिब दशकको मिहिनेतले अब सार्थकता पायो भन्ने लागेको थियो। ‘अब म पनि विसंं २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद खेल्छु भन्ने लाग्यो। त्यो समाचार सुन्दाको खुसी अहिले एक दुई शब्दले बयान नै गर्न सक्दिनँ,’ कप्तान कृष्ण भन्छन्। तर पनि उनै कृष्णसहित ती खेलाडीका रूपमा मैदानमा देखिएनन्। यसबारे पूर्ण रूपमा जान्न पछाडि फर्कनुपर्छ। नवौं अगाडि संघ, राष्ट्रिय खेलाडी, रेफ्री र प्रशिक्षकको बैठक बस्यो।
अब राष्ट्रिय खेलकुदमा रग्बीको डेब्युलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यका लागि थियो, त्यो बैठक। त्यहाँ उपस्थिति सिनियर खेलाडीको चाहना सातै प्रदेश र विभाग यस राष्ट्रिय खेलकुदमा खेलून् भन्ने थियो। एक विभागीय टोली आर्मीले करिब ७/८ वर्षदेखि नै रग्बी खेल्थ्यो। एपिएफ र पुलिसको टोली भने थिएन। अब दुई विभागीय टोली र सात प्रदेशका टोली निर्माण गर्न दक्ष प्रशिक्षक आवश्यक पर्ने भयो। त्यसकारण कारण पनि यी १३ खेलाडीमध्ये राष्ट्रिय टोलीका खेलाडीले जिल्ला जिल्ला र विभागमा गएर प्रशिक्षण गराउनुपर्ने भयो।
यता, नवौंमा महिला र पुरुष गरेर ४४ वटा प्रतिस्पर्धा हुने तय थियो। त्यहाँ पनि संघलाई आवश्यक दक्ष प्राविधिक आवश्यक थियो। त्यसैले त्यो बैठकपछि ती खेलाडीले राष्ट्रिय खेलकुद नखेल्ने र फरक भूमिकाबाट सहभागी हुने निश्चित भयो। ‘हामीलाई विभाग र प्रदेशबाट खेल्न चाहना थियो। आठ वर्षको प्रतीक्षापछि यो अवर आएको हो। तर, त्योभन्दा महत्त्वपूर्ण डेब्युलाई यादगार बनाउने हाम्रो संयुक्त लक्ष्य रह्यो। त्यसैले कोही प्रशिक्षक बन्यौं, कसैले रेफ्रीको भूमिका काम गर्ने जिम्मेवारी लियौं,’ राष्ट्रिय टोलीका सदस्य श्रीराम श्रेष्ठले भने।
राष्ट्रिय टोलीमा लुज हेड प्रपको पोजिसनमा खेल्ने श्रीरामको प्रशिक्षणमा सशस्त्रको दुवै टोली फाइनलमा पनि पुगेको थियो। एपिएफको पुरुष टोलीले फाइनलमा लुम्बिनीलाई हराउँदै स्वर्ण जित्यो। लुम्बिनीका प्रशिक्षक हुन्, राष्ट्रिय टोलीका उनै कप्तान कृष्ण क्षेत्री थापा। महिलामा भने एपिएफको महिला टोली फाइनलमा आर्मीसँग स्तब्ध भयो। राष्ट्रिय टोलीकी कप्तान एलिसा थापा निर्णायक थिइन् भने उपकप्तान सृजना राई नेपाल पुलिस क्लबकी प्रशिक्षक।
पाँचवटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरिसकेकी उपकप्तान सृजनाले पनि राष्ट्रिय टोलीलाई थप बलियो बनाउने उद्देश्य अनुरूप टोली खेल्नभन्दा पनि टोली निर्माणमा ध्यान दिएको बताइन्। ‘खेल्न नपाउँदा दुःख त लाग्छ। तर, मेरो निर्णयमा रग्बीको भविष्य देख्दा खुसी नै लागेको छ।
मैले ढेड महिना प्रशिक्षण गराउँदा रग्बीको भविष्य राम्रो हुन्छ भने मेरो सपना अधुरै रहोस् भन्ने लाग्यो,’ कप्तान एलिसा र उपकप्तान सृजनाको आशय थियो। रग्बीको इतिहास पुरानै छ। राखेपमा वि.सं. २०५२ सालमा गठन भएको खेल हो, रग्बी।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा दर्ता भएका करिब एक सय ९० खेल संघमध्ये रग्बी पनि पुरानै हो। ५२ सालमा स्थापना भए पनि गतिविधि भने शून्य थियो। ०६८ सालमा पनि टंकलाल घिसिङको अध्यक्षता रग्बी संघको पुनर्गठन भएपछि भने यसको गतिविधि बढ्न थाल्यो। उनै घिसिङ अहिले राखेपमा सदस्यसचिवको जिम्मेवारीमा छन्। उनी त्यो जिम्मेवारीमा पुगेपछि रग्बीबारे केही चासो र गतिविधि पनि बढेको छ। यद्यपि, त्यस अघि रग्बी चुप लागेर बसेको चाहिँ होइन।
नियमित घरेलु प्रतियोगिता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र प्रशिक्षण कोर्स संघले गर्दै आए पनि खेलाडी र प्राविधिक पलायनले संघलाई समस्या भइरहेको थियो। नवौं राष्ट्रिय खेलकुदमा यो समस्या थप बल्झियो। त्यसैले राष्ट्रिय टोलीका सदस्य प्रेम कोइराला, विराट श्रेष्ठ, विक्रम पुरी, विक्रम भारती, यदु अधिकारी र विराट एडी तथा महिलातर्फ सबिना महर्जन, नानी तामाङ र साबी पुर्जाले नवौं राष्ट्रिय खेलकुद खेलेनन्।
नवौंमा विराट गण्डकी, विक्रम प्रदेश-१, विराट एडी कर्णालीका प्रशिक्षक भए। सबिना र नानी निर्णायक र साबिक गण्डकीका प्रशिक्षक भइन्। प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका प्रेम कोइरालाले राष्ट्रिय खेलकुदमा खेल्न मन भए पनि रग्बीको विकास नै पहिलो प्राथमिकतामा राखेर रेफ्रीको जिम्मेवारी सम्माल्ने निर्णय गरेको बताए। ‘हामी पहिलो पुस्ताका खेलाडी हौं। त्यसैले हामीमाथि धेरै जिम्मेवारी थियो। त्यसकारण सपना पूरा गर्ने लक्ष्यमा सीमित हुन चाहेनौं,’ मुख्य रेफ्रीको जिम्मेवारी समालेका प्रेमले भने।
राष्ट्रिय टोलीका उपकप्तान विराट श्रेष्ठले पनि सात वर्षको अनुभव खेलाडीलाई सिकाउन पाउँदा गर्विलो महसुस भएको बताए। ‘हाम्रो जिम्मेवारी पदक जित्नुभन्दा खेल विकासमा पनि जानुपथ्र्यो। त्यसैले हामीले सोही अनुरूप गर्यौं,’ उपकप्तान विराटले भने।
प्रकाशित: ३ कार्तिक २०७९ ०१:२६ बिहीबार