खेल

नवौँ राष्ट्रिय खेलकुदः एपिएफ पुरुष फुटबलको सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी)को खेलमा एपिएफले बागमती प्रदेशलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा भएको खेलमा बागमतीले सुरुआती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपर्‍यो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुआती अग्रता दिलाएका थिए।

प्रतियोगिताको दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन। खेलको ६५औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काए। त्यसको एक मिनेटपछि अर्थात् ७६औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए।

 टेबलटेनिसतर्पः पाँच स्वर्ण प्रहरीलाई

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत  टेबलटेनिस प्रतियोगिताका पाँचवटा इभेन्ट सम्पन्न भएका छन्। जसमा चारवटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण सशस्त्र प्रहरीले जित्न सफल भए।

प्रतियोगिताअन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी चारवटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक सशस्त्र प्रहरीले जितेको हो। पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३–१, ११–८, ११–५, ११–१३, ११–६ को ३–१ को सेटले सशस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको थियो।

यसैगरी प्रतियोगितामा सहभागी ११ टिममध्ये सशस्त्र प्रहरीले दुई रजत, नेपाल प्रहरी, नेपाली सेना र बागमती प्रदेशले एक–एक रजत हात पारेका छन् भने कास्य पदकतर्फ बागमती प्रदेशले दुई, एनआरएनएले दुई, प्रदेश नं १ ले दुई, आर्मीले दुई, नेपाल पुलिलले एक र गण्डकी प्रदेशले एक पदक हात पार्न सफल भएका छन्।

स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीमा पुुरुष टिम इभेन्टतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका छन्। महिला टिम इभेन्टतर्फ नवीता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यस्वासी अवल र शुभाश्री श्रेष्ठ रहेका छन्। पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका थिए।

महिला डबल्स इभेन्टतर्फ सशस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीमा सिक्का सुवाल र वियन्का राई रहेका छन्। विजयी टिम र खेलाडीलाई तालिम तथा प्रशिक्षण विभाग निर्देशक प्रचण्ड शर्मा, प्रशासन विभागीय प्रमुख मधुसुदन बस्नेत, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, एनआरएनका मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले मेडल तथा पुरस्कार वितरण गरेका थिए।  

प्रतियोगिताअन्तर्गत बाँकी रहेका दुई इभेन्टस महिला सिङ्गल्स र पुरुष सिङ्गल्सतर्फका खेल पोखराको रामबजारस्थित कोल्मा बहाकोट तमु समाज घरमा जारी छ। रासस

प्रकाशित: ३१ आश्विन २०७९ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App