खेल

राष्ट्रिय महिला भलिबल: दुई विभागीय, गण्डकी र बागमती प्रदेश सेमीफाइनलमा प्रवेश

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोलीसहित चार टिम सेमीफाइनलमा प्रवेश गरेको छ।

सोमबार खुल्लामञ्चमा सम्पन्न भएको क्वाटरफाइनलका चार खेलमा सशस्त्र प्रहरीको एपीएफ, नेपाल प्रहरी, बागमती प्रदेश र गण्डकी प्रदेश सेमीफाइनलमा प्रवेश गरेको हो। सशस्त्रले लुम्बीनी प्रदेशलाई, बागमतीले सुदुरपश्चिम प्रदेशलाई, पुलिसले आर्मीलाई र गण्डकी प्रदेशले प्रदेश १ लाई पराजित गरेका थिए।

पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो। त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

क्वाटरफाइनलकै खेलमा नेपाल पुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबबीच भने कडा प्रतिस्पर्धा भएको थियो। नेपाल प्रहरीले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो।

पुलिसले र आर्मीमाथि जित निकाल्दा २५–१३, २५–२०, २३–२५ र पाँचौ तथा निर्णायक सेटमो १५–१३ ले पुलिसले जितेको थियो। खेलको पहिलो दुई सेट जितेको नेपाल प्रहरीले बाँकी खेलमा सम्हालिन नसक्दा आर्मीले फाइदा लिएको भएपनि अन्तिम खेलमा भने प्रहरीले आर्मीलाई रोक्दै सेमिफाइनको यात्रा सहज बनाएको हो।

त्यस्तै गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ माथि जित निकालेको थियो। प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लवकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई भएका छन्।

कात्र्तिक १ गते मंगलबार हुने सेमिफाइनलको खेलमा एपीएफ र बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए। नेपाल प्रहरीकी कप्तान कमला पुन र गण्डकी प्रदेशकी कप्तान अरुणा शाहीको गृह जिल्ला समेत म्याग्दी हो। जिल्लाको दुई चेलीले कप्तानी गरेको टिमले भोली फाइनलका लागि खेल खेल्ने छ।

प्रकाशित: ३१ आश्विन २०७९ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App