खेल

अन्ततः गौरिकालाई स्वर्ण

गौरिका सिंह

पौडीकी गौरिका सिंहले गत संस्करणको आठौं राष्ट्रिय खेलकुदमा सनसनी मच्चाएकी थिइन्। आफूले प्रतिस्पर्धा गरेको १२ वटै विधामा स्वर्ण जित्दै गौरिका आठौं खेलकुदमा छाइन्।

यस पटक नवौंका कुल ३२ स्वर्णमध्ये गौरिकाले मात्रै ११ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै थिइन्। त्यसैले उनले गत संस्करणको सफलता दोहोर्‍याउने सबैको अपेक्षा थियो। गौरिकाबाट सोही किसिमको अपेक्षा उनी सम्मिलित त्रिभुवन आर्मी क्लबले गरेको थियो। गौरिकाको सफलतालाई पछ्याउनेका लागि यस संस्करण उनको प्रदर्शनबारे चासो हुनु स्वभाविक नै रहन्छ। यद्यपि, सबै अपेक्षा अनुरूप हुन सकेन। अमेरिकामा अध्ययनरत गौरिका यसै प्रतियोगिताका लागि भनेर लामो सफर पार गरेर नेपाल आइपुगेकी थिइन्।

उनका बुबा पारस सिंहका अनुसार गौरिकाले लामो सफर गरेको ३६ घण्टा पनि नबित्दै नवौंको प्रतिस्पर्धाका लागि उत्रिएकी हुन्। तर, स्वास्थ्यले गौरिकालाई साथ दिएन। पौडीका प्रतिस्पर्धा भएको पहिलो दुई दिन उनी प्रतिस्पर्धामा उत्रन सकिनन्। पेटमा दुखाइका कारण उनलाई असहज भयो। यस पटक ११ विधामा सहभागी भएकी गौरिकाले चार विधा नै छोड्नुपर्‍यो। गौरिका १३औं दक्षिण एसियाली खेलकुद(साग) की दोहोरो स्वर्ण विजेता हुन्। एक व्यावसायिक खेलाडी भइसकेपछि खेल त्याग्नु कति पीडादायी हुन्छ भन्ने उनको खेल हेर्न आएका उनका परिवारको भनाइबाट नै स्पष्ट हुन्थ्यो।

दृढ संकल्प बोकेको र सफलताका लागि संघर्ष गरिरहेका गौरिकाका लागि खेल त्याग्नु निकै कठिन निर्णय थियो। तर,स्वास्थ्यले साथ नदिँदा गौरिका त्यसो गर्न बाध्य भइन्। आइतबार गौरिकाले महिला २ सय मिटर फ्रिस्टाइल र ८ सय मिटर फ्रिस्टाइल छोडिन्। त्यसअघि शनिबार भने उनले सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा पुगेर पनि छाडेकी थिइन्। आइतबार दुई सय मिटर फ्रिस्टाइलको फाइनलमा पुगे पनि गौरिकाले अन्तिममा प्रतिस्पर्धा गर्न सकिनन्। तर, उनकी आमा गरिमा राणा सिंहले छोरी सहभागी नहुनेबारे समयमा नेपाल पौडी संघलाई जानकारी गराएपछि अर्को खेलाडीले छनोट भएर खेल्ने अवसर पायो। यद्यपि, आइतबार साँझ उनले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गरिन् र सफलता पनि चुमिन्। उनको प्रतिस्पर्धालाई छेउमा नै बसेर उनका बुबा र आमाले हेरिरहेका थिए। गौरिकाले स्वर्ण चुमेलगत्तै उनको परिवार निकै हर्षित भए। गौरिकाले स्वर्ण जित्नु उनका परिवारका लागि नयाँ थिएन।

तर, यो परिस्थितिमा जित्नु चुनौतीपूर्ण नै थियो। त्यसमाथि पनि उनका लागि नयाँ चुनौतीका रूपमा एस्ली सापकोटा डंगोल देखिएकी थिइन्। गौरिकाले स्वर्ण जितेको यसै विधाको हिटमा पनि एस्लीले उनलाई पछि पारेकी थिइन्। एनआरएनएबाट प्रतिस्पर्धा गरिरहेकी एस्लीले चार स्वर्ण जितिसकेकी थिइन्। त्यसैले पनि गौरिकाका लागि एस्ली चुनौती थिइन्। तथापि, गौरिकाले उनलाई पछि पार्दै नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक सुरक्षित गरिन्। उनले निर्धारित दूरी एक मिनेट ०५.५० सेकेन्डमा पूरा गरिन्।

सोही इभेन्टमा गैरआवासीय नेपाली संघ (एनआरएनए) की एस्लीले रजत पदक जित्दा एक मिनेट ०८‍.७९ सेकेन्ड लगाइन्। आर्मीकी अनुसूया तण्डुकारले एक मिनेट १३.८० सेकेन्डमा दौड पूरा गरिन्। गौरिकाले महिलाको चार सय मिटर फ्रिस्टाइल रिलेमा पनि आफ्नो टोली आर्मीलाई स्वर्ण जिताइन्। अब उनी बाँकी ६ प्रतिस्पर्धामा स्वर्ण पदकका लागि उत्रनेछिन्।

गत वर्षको जस्तै सफलता प्राप्त नभए पनि जुन लक्ष्य बोकेर लामो यात्रा गौरिकाले तय गरेकी हुन्, त्यो केही हदसम्म पूरा भएको छ।गौरिकाकै पदचापमा देखिएकी एनआरएनकी एस्ली खेलेका पाँच विधामध्ये चारमा अब्बल साबित भइन् र आफ्नो टोलीलाई चार स्वर्ण दिलाइन्।

सय मिटर ब्याक स्ट्रोकमा रजत पदकमा खुम्चिएकी एस्लीले पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा महिला ८ सय मिटर फ्रिस्टाइल १० मिनेट ३०.६४ सेकेन्डको समय निकाल्दै चौथो स्वर्ण हात पारेकी हुन्। सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले १० मिनेट ४१.६२ सेकेन्डको समयका साथ रजत र पुलिसकै समिरा सोभ थापा मगरले १० मिनेट ५७.६४ सेकेन्ड समय निकाल्दै कांस्य जिते।

यसअघि उनले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन्। अब बाँकी खेलमा पनि स्वर्ण जित्ने लक्ष्य बोकेकी एस्लीले यो सफलताबाट आफू निकै खुसी भएको र नेपालबाट खेल्न चाहना पनि व्यक्त गरिन्। उनका भाई आशिष सापकोटाले पनि रजत पदक जितेका छन्।

नासिरको कीर्तिमान र स्वर्ण

आर्मी क्लबका नासिर हुसेनले पुरुष दुई सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्। २ मिनेट ११.०४ सेकेन्डको समय निकाल्दै नासिरले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्। यसअघि उनकै नाममा २ मिनेट ११.८५ सेकेन्डको कीर्तिमान थियो। यस स्पर्धामा एनआरएनएका आशिष सापकोटाले २ मिनेट १३.९८ सेकेन्डको समय निकाल्दै रजत हात पारे। गौरीका सिंहका भाईसमेत रहेका बाग्मती प्रदेशका सौरेन सिंहले दुई मिनेट १९.९१ सेकेन्डको समय निकाल्दै कांस्य जिते।

नासिरले पुरुष २ सय मिटर फ्रिस्टाइलमा समेत राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात पारे। उनले एक मिनेट ५५.३९ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन्। यस स्पर्धामा आर्मीकै एलेक्स शाहले १ मिनेट ५५.४८ सेकेन्डसहित रजत जिते। २ मिनेट ०२.७५ सेकेन्डको समय निकाल्दै इर्भिन श्रेष्ठले कांस्य जिते।

प्रकाशित: ३१ आश्विन २०७९ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App