खेल

गौरिकाका लागि अस्वस्थता बाधक

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहका लागि अस्वस्थताका कारण नवौैं राष्ट्रिय खेलकुदअन्तर्गत शनिबार पहिलो दिन सुखद रहेन।

नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा १२ विधामा सहभागी हुँदै १२ वटै इभेन्ट्समा स्वर्ण पदक जित्दै कीर्तिमान रचेकी गौरिकाले स्वास्थ्य समस्याकै कारण शनिबारका लागि तय दुई विधाबाट नाम फिर्ता लिन बाध्य भइन्।

विभागीय क्लब त्रिभुवन आर्मीकी गौरिकाले शनिबार बिहान फिसटेल एकेडेमीमा सम्पन्न महिला एक सय मिटर फ्रिस्टाइलको हिट चरण १ मिनेट ०३.२ सेकेन्डमा पूरा गरिन्। उनी हिट चरणको तेस्रो स्थानमा रहिन्। पहिलो स्थानमा आर्मीकै अनुसूया तण्डुकार रहिन्। उनले सो दूरी पूरा गर्न १ मिनेट ०१.८३ सेकेन्ड लगाइन्। एनआरएनकी एस्ले डंगोल सापकोटा दोस्रो स्थानमा रहिन्। उनले सो दूरी पूरा गर्न १ मिनेट ०२. ८४ सेकेन्ड खर्चिइन्। यस विधाको राष्ट्रिय कीर्तिमान गौरिकाकै नाममा छ।

गौरिकाको नाममा ५८.१३ सेकेन्डको कीर्तिमान रहेको छ। हिट चरणमा केही पछि परे पनि गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जित्ने अनुमान गरिएको थियो। तर अस्वस्थताका कारण गौरिकाले दुई वटा विधाको फाइनलबाट नाम फिर्ता लिएको भन्ने खबर सार्वजनिक भएपछि केही क्षण त्यहाँको माहोल खल्लो बनेको थियो।

गौरिकाले शनिबारका लागि तय महिला दुई सय मिटर ब्याकस्ट्रोकको फाइनलमा समेत प्रतिस्पर्धा गरिनन्।

गौरिकाले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ १२ विधामा प्रतिस्पर्धा गर्दै १२ वटै विधामा स्वर्ण जित्दै कीर्तिमान रचेकी थिइन्।

आर्मीका सहायक टिम लिडर मेजर सागरशमशेर थापाले गौरिकाले पेट दुखेका कारण दुईवटा विधाको फाइनल चरणबाट नाम फिर्ता लिएको बताए।

‘गौरिकाले पेटको दुखाइका कारण आज तय महिला एक सय मिटर फ्रिस्टाइल र महिला दुई सय मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा प्रतिस्पर्धा नगर्ने भएकी छिन्। उनको स्वास्थ्यस्थिति हेरेर आइतबार दोस्रो दिन उनले प्रतिस्पर्धा गर्ने वा नगर्ने निर्धारण हुनेछ,’ थापाले भने।

महिला एक सय मिटर फ्रिस्टाइलमा एनआरएनकी एस्ले डंगोल सापकोटाले निर्धारित दूरी १ मिनेट ०१.४२ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा आर्मीकी अनुसूया तण्डुकारले निर्धारित दूरी १ मिनेट ०१.६० सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन्। नेपाल पुलिसकी मेनन गुरुङले कांस्य पदक जितिन्। उनले सो दूरी पूरा गर्न १ मिनेट ०६.२८ सेकेन्ड लगाएकी थिइन्।

यता महिला दुई सय मिटर ब्याकस्ट्रोकमा एनआरएनएकै एस्लेले नै स्वर्ण पदक जित्दा बाग्मती प्रदेशकी आरजु थापा मगरले रजत र प्रदेश-१ की उपासना राईले कांस्य पदक जिते।

एस्लेले निर्धारित दूरी पूरा गर्न दुई मिनेट ३६.०४ सेकेन्डमा लगाउँदा आरजु र उपासनाले निर्धारित दूरी पूरा गर्न क्रमशः ३ मिनेट १७. ९९ सेकेन्ड र ४ मिनेट २८.८६ सेकेन्ड खर्चिए।

पहिलो दिन आठ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत आर्मी र एनआरएनले समान तीन स्वर्ण पदक जित्दा एपिएफले दुई स्वर्ण पदक जित्यो।

प्रकाशित: ३० आश्विन २०७९ ०४:५२ आइतबार

कीर्तिमानी पौडी खेलाडी गौरिका सिंह गौरिकाका लागि अस्वस्थता बाधक