खेल

गल्फ: आर्मीलाई एक र बागमतीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गल्फको व्यक्तिगत विधाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन्। पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा सुवासले सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जितेका हुन्। प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते।  

पहिलो दिन एक अण्डर ६८ खेलेका सुवासले दोस्रो दिन लेभल पार खेल्दै १३७ स्कोरसहित स्वर्ण पदकमा आफ्नो नाम लेखाए। पाँचौ होलमा बोगी खेप्दा उनले फ्रन्ट नाईनमा ३५मा टुंग्याए। तर ब्याक नाईनमा उनले लेभल पार खेल्दै अघिल्लो दिन जोगाएको एक स्ट्रोकले स्वर्ण दिलायो। सदभावले रजत पदकमा चित्त बुझाए। सदभावले अघिल्लो दिन एक ओभर ७० को स्कोरमा टुंग्याएका थिए। दोस्रो दिन सुधार्दै १अण्डर ६८ खेलेपछि उनी समग्र १३८ स्कोरमा रहँदै रजत पदकमा खुम्चिए। युवराज भुजेल भने कास्य पदकमा चित्त बुझाए। भुजेल आचार्य भन्दा तीन स्ट्रोकले पछि परेका थिए।  

टिम इभेण्टको प्रतिस्पर्धामा बागमतीले स्वर्ण पदक जित्दा प्रदेश १ ले रजत र त्रिभुवन आर्मीले कास्य पदक जितेको छ। महिला तर्फको प्रतिस्पर्धामा बागमतीकी कष्मिरा शाहले स्वर्ण, बागमतीकै तारा कार्कीले रजत र प्रदेश नं १ की सुष्मा सिग्देलले कास्य पदक जितिन्। महिला टिम इभेण्टमा बागमतीले स्वर्ण जित्दा प्रदेश १ ले रजत र गण्डकीले कास्य पदक जितेको छ। व्यक्तिगत विजेताले नगद २५ हजार प्राप्त गरे। टिम इभेण्टमा विजेता खेलाडीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। 

प्रकाशित: २९ आश्विन २०७९ १२:३२ शनिबार

नवौं राष्ट्रिय खेलकूद