खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: निशाको राष्ट्रिय कीर्तिमान

लुम्बिनी प्रदेशकी धाविका निशा चौधरी। तस्बिरः उमेश पुन/नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पहिलो दिन नयाँ कीर्तिमामान बनेको छ। लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले १०० मिटर दौडमा कीर्तिमान बनाएकी हुन्।

हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पूरा गर्दै किर्तिमान बनाइन्। उनले यसअघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। देवीमाया पनेरुले १९९९ मा आठौं दक्षिण एशियाली खेलकुद (साग) मा त्यो कीर्तिमान बनाएकी थिइन्।

१५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन्। उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् मुकेशले ३ मिनेट ५२.२१ सेकेण्डमार अजितले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गरेका थिए। तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेण्डमा पार गरे।

महिलातर्फ एपीएफका फूलमति रानाले स्वर्ण पदक जितेकी छन्। उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। फूलमतिले ४ मिनेट ३८.१९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दुरी पूरा गरिन्। तेस्रो भएकी आर्मीकी रेखा लिम्बुले ५ मिनेट ३ सेकेण्डमा दुरी पार गरिन्।

प्रकाशित: २९ आश्विन २०७९ ०७:०२ शनिबार

नवौं राष्ट्रिय खेलकुद नयाँ राष्ट्रिय कीर्तिमान