खेल

नवौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा ६ प्रदेश सहभागी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको दमौलीमा सञ्चालन हुने महिला बास्केटबलमा ६ प्रदेश सहभागी हुने भएका छन्। शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडी आज दमौली आइपुगेका छन्।  

महिला बास्केटबल प्रतियोगिताअन्तर्गत दुई विधामा खेल सञ्चालन हुनेछ। ६ जना खेल्ने खेलमा ६ वटा प्रदेश र ३ जना खेल्ने खेलमा ६ प्रदेशसहित ८ वटा टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए। ३ जना खेल्ने खेलमा ६ वटा प्रदेशका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टिम सहभागी हुँदैछ।  

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ। शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ। झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ। तनहुँले पहिचानसहितको कार्यक्रम गर्ने बताउँदै अध्यक्ष पाण्डेले भने, 'नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्छौं।'

खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको छ। खेलमैदानमा रङरोगन, सरसफाइ गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ। यहाँ रहेको दुई वटा मैदानमा खेल सञ्चालन हुनेछ।  'खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ', पाण्डेले भने, 'स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्यरुपमा सम्पन्न गराउन आतुर छन्।' खेलमैदान नजिक चेञ्जिङ रुम र शौचालय तयार गरिएको छ। असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आइपुगेका छन्। आवासको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ।  

खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग बैठक बसिएको छ। 'शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको छ', उनले भने। रासस

प्रकाशित: २७ आश्विन २०७९ १४:५२ बिहीबार

नवौं राष्ट्रिय खेलकुद तनहुँको दमौली महिला बास्केटबल