खेल

मैदान तयारी नहुँदा र जर्सी नपाउँदा हक्कीको उदघाटन खेल सर्यो

गौरीशंकर खेलमैदान

खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम थियो।

गौरीशंकर खेलमैदानमा अझै घाँस काटेर नसकिदाँ उदघाटन खेल केही ढिलो हुने नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए। उनले उदघाटनसँगै उदघाटनमा सहभागि प्रदेशले समेत खेल सामान(जर्सी) नपाउँदा खेल समयमै आयोजना गर्न नसकिएको उनको भनाई थियो।

‘हामीले त अहिलेसम्म जर्सी केही पनि पाएका छैनौं, ’ बागमति प्रदेशका हक्की प्रशिक्षक अश्विनीकुमार अधिकारीले भने, ‘बल्ल प्रिन्ट गर्न दिएको छ भन्ने थाहा पाएका छौं। कहिले आउँछ यकिन छैन्।’ खेल मैदान अझै तयार नभएको र खेल सामान पनि नआएकोले दुई खेल पछि सारिएको बताए। पुरुषको उदघाटन खेल प्रदेश नं १ र सुदुरपश्चिम बीच थियो। दोस्रो खेल बागमी प्रदेश र लुम्बिनी प्रदेश बीच हुने थियो। तेस्रो खेल गण्डकी प्रदेशले नेपाल आर्मीको सामना गर्ने कार्यक्रम थियो। दुई खेल पछि सारिदाँ उदघाटन गण्डकीले नेपाल आर्मी बीच हुने छ।

महिला तर्फको सुदूर पश्चिम र बागमती प्रदेश बीच उदघाटन खेल राखिएको थियो। महिला टोलीले पनि समयमै खेल पोशाक नपाउँदा खेल पछि सार्नुपरेको उपाध्यक्ष खड्काको भनाई थियो। दोस्रो खेल गण्डकी प्रदेश र प्रदेश नं १ बीच हुने तय छ।  

प्रकाशित: २७ आश्विन २०७९ ०६:२४ बिहीबार

खेल मैदान जर्सी हक्की