खेल

नवौं राष्ट्रिय खेलकुदः पोखरा महानगरद्वारा पदक जित्ने खेलाडीलाई पुरस्कार दिने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो पदकको रुपमा फेन्सिङका विजय अधिकारीले काँस्य पदक जितेका छन्। उनले काँस्य पदक जितेको भोलिपल्टै पोखरा महानगरपालिकाले खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गरेको छ।  

महानगरले व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन स्वरुप नगद १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बिहीबार विहान खेलाडीलाई प्रोत्साहन पुरस्कार घोषणा गर्दै थोरै रकम भएपनि महानगरपालिकाले खेलाडीलाई उत्साहित र प्रोत्साहित गर्ने प्रयास गरेको बताए।  

घोषणा अनुसार व्यक्तिगत विधामा रजत पदक विजेता खेलाडीले १० हजार र काँस्य पदक जित्ने खेलाडीले ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिईने छ। टिम इभेण्ट तर्फ भने जनही ५ हजार प्रदान गर्ने महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखरा महानगरबाट दुईसय भन्दा बढी खेलाडीहरु विभिन्न खेलमा सहभागिता रहेको महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले बताए। ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजित प्रतियोगितामा ३६ खेलमा प्रतिस्पर्धा हुने छ। दुई खेल प्रदर्शनी गरिने छ।  

प्रकाशित: २६ आश्विन २०७९ ०९:१९ बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा महानगरपालिका पुरस्कार