खेल

‘आर्सनलसँगको खेल अवसर’

लिभरपुलका फाबिन्होले आर्सनलविरुद्धको खेल आफूहरूका लागि जितसहित इङ्लिस प्रिमियर लिगको स्वाभाविक लयमा फर्किएको उदारहण दिने सुनौलो अवसर भएको बताएका छन्।

योर्गान क्लोपको टोलीले यस सिजन प्रिमयर लिगमा लय अनुरूपको प्रदर्शन गर्न सकेको छैन। सात खेलको समाप्तिमा लिभरपुल दुई जित, चार बराबरी र एक हारपछि १० अंकसहित नवौं स्थानमा छ। जुन शीर्ष स्थानको आर्सनलको भन्दा ११ अंक कम हो। आर्सनलले जारी सिजन प्रिमियर लिगमा उत्कृष्ट लयसहित शीर्ष स्थान कायम राख्ने क्रममा आठ खेलमा सात जित र एक हारको नतिजापछि २१ अंक जोडेको छ।

लिभरपुलले आगामी साता घरेलु मैदान एन्फिल्डमा म्यानचेस्टर सिटीलाई आतिथ्यता गर्दै छ।

‘इमिरेट्समा आर्सनलविरुद्ध खेल्न सहज छैन,’ उनले भने, ‘आर्सनल अहिले उच्च लयमा छ। त्यसको विपरीत हामी भने स्वाभाविक लयबाट टाढा छौं। शीर्ष टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्न कठिन छ। तर पनि सुखद नतिजासहित स्वाभाविक लयमा फर्किएको संकेत गर्नका लागि यो हाम्रा लागि सुनौलो अवसर हो। हामीले पछिल्लो साता च्याम्पियन्स लिगमा पनि जित निकालेका थियौं। त्यसले पनि टोलीको मनोबल बढेको छ। लिगमा हामीले अगामी दुई खेलमा आर्सनल र म्यानचेस्टर सिटीविरुद्ध खेल्दै छौं। जुन निकै महत्त्वपूर्ण छ। यी खेलमा निकाल्ने नतिजाले हाम्रो मनोबल फर्काउनेछ।’

प्रकाशित: २३ आश्विन २०७९ ०२:३६ आइतबार

लिभरपुल