खेल

हालाण्ड चम्किँदा म्यानचेस्टर सिटीको फराकिलो जित

म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ।

बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा  सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे। रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाए। ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे। ५५ औं मिनेटमा महरेजले पेनाल्टीबाट गोल गर्दा सिटीको अग्रता ४(० को बन्यो।

त्यसपछि खेलको ७६ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए।

जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ। सिटी अन्तिम १६ को निक समेत पुगेको छ।

समूह जी को सिटीले ३ खेलमा ९ अंक जोडेको छ। सिटी शीर्ष स्थानमा रहेको छ।कोपनहेगन १ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित: २० आश्विन २०७९ ०५:४९ बिहीबार

यूईएफए च्याम्पियन्स लिग