खेल

कतार विश्वकप: ‘समर्थकलाई कोरोना भ्याक्सिन अनिवार्य छैन’

आसन्न विश्वकप फुटबलको आयोजक राष्ट्र कतारले बिहीबार फुटबल समर्थकका लागि कोरोना भाइरसको भ्याक्सिन अनिवार्य नभएको बताएको छ।

कतार विश्वकप आगामी २० नोभेम्बरदेखि डिसेम्बर १८ तारिखसम्म आयोजना हुँदा २४ राष्ट्रले सहभागिता जनाउँदै छन्। समर्थकका लागि कोभिड भ्याक्सिन अनिवार्य नभए पनि खेलाडी र म्याच अफिसियल्सलाई सुरक्षाका लागि ‘बायो बबल’ भित्र रहन भने अनिवार्य गरेको हो। कोरोना भाइरस फैलिन नदिन भन्दै कतारको स्वास्थ्य मन्त्रालयले बायो बबलको मापदण्ड तोकेको छ। २९ दिनसम्म चल्ने प्रतियोगिता कोभिडको महामारीपछि आयोजना हुँदै छ। २०१९ को डेसेम्बरबाट कोभिडले महामारीको रूप लिएको थियो।

विश्वकप आयोजकले एक मिलियन समर्थकले फुटबलका लागि टिकट लिइसकेको बताएको छ। तर फुटबलको सर्वोच्च संस्था फिफाले महामारी रोकथामका लागि अधिकतम प्रावधान तोक्दै सम्भावित दुर्घटना नहुने किसिमको प्रावधान बनाउन निर्देशन दिएको छ। कतारी स्वास्थ्य मन्त्रालयले पनि विश्वकपको स्वास्थ्य मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै विश्वकप भव्य बनाउने योजनामा छ। साथै नयाँ भेरियन्टका लागि पनि तयारी भइरहेको मन्त्रालयको दाबी छ। कतारको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ नियन्त्रणमा रहेको दाबी गर्दै भ्रमणमा आउने दर्शकका लागि भ्याक्सिन आवश्यक नरहेको बताएको हो। ‘अहिलेको अवस्थामा कोभिड–१९ पूर्ण रूपमा नियन्त्रणमा रहेको छ। सोही कारण भ्रमणमा आउने समर्थकका लागि भ्याक्सिन आवश्यक छैन,’ मन्त्रालयले भनेको छ।

कतार फ्लाइटअघि ६ वर्षभन्दा माथिका सबैले कोभिड–१९ को रिपोर्ट नेगेटिभ देखाउँदै टिकट लिने प्रावधन भएकाले भ्याक्सिन अनिवार्य नभएको प्रस्ट पारेको हो। प्रतियोगिताको अवधिभर मन्त्रालयले समर्थकलाई भ्रमण गर्दा सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ भने ८ रंगशालामा फुटबल अधिकारीलाई मात्र मास्कको प्रयोग गर्न भनिएको छ। भ्रमण गरिसकेपछि कुनै समर्थकलाई कोभिड-१९ को पोजेटिभ संकेत देखिएमा ५ दिन आइसोलेसनमा बस्नुपर्ने मापदण्ड मन्त्रालयले बनाएको छ। 

प्रकाशित: १५ आश्विन २०७९ ००:५९ शनिबार

कतार विश्वकप आसन्न विश्वकप फुटबल