खेल

अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सहज जित

अञ्जन विष्टको ह्याट्रिकमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो। खेलको १८औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए। पुन २७औं मिनेटमा अग्रता  दोब्बर पारे।

यस्तै, ३८औं मिनेटमा अञ्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अग्रता दिलाए। यससँगै अन्जन नेपालका लागि अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी बनेका छन्। राष्ट्रिय टोलीका लागि अञ्जनको यो १० औं गोल समेत हो। यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन राइमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याएका थिए। तर दुबै टोलीले थप गोल गर्न नसक्दा नेपाल ३१ ले विजयी भयो। नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो। खेल हेर्नका लागि रंगशालामा आधिकारिक रुपमा आठ हजार ६ सय ६५ जना दर्शकको उपस्थिति थियो।

प्रकाशित: ११ आश्विन २०७९ १३:५१ मंगलबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अञ्जन विष्ट