खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ।  

अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए। उनले नवौं राष्ट्रिय खेलकुदको लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरु दर्ता भएको जानकारी दिए। उनले नेपाल आर्मी र सुदूरपश्चिमले आफ्ना शतप्रतिशत खेलाडीको दर्ता गरिसकेका र अन्य प्रदेशका भने केही खेलाडीहरु ड्राफ्टमा रहेको बताए।

पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते शुक्रबार हुनेछन्। यस्तै नवौंको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३ गते बिहीबार गर्ने तालिका रहेको छ। सात दिनसम्म चल्ने प्रतियोगितामा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भने काठमाडौँमा सम्पन्न भइसकेको छ। ११ टोलीले सहभागिता जनाएको प्रतियोगिताको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले अर्को विभागीय टोली त्रिभूवन आर्मी क्लवलाई हराउँदै नवौंको पहिलो स्वर्ण पटक हात पारिसकेको छ। यस्तै मंगलवार नै आयोजित अन्तरक्रिया कार्यक्रममा नवौंमा सहभागि हुन लागेका खेल संघलाई आयोजक राखेपले २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेको छ। नगद दुई लाख बाहेक अन्य सुविधा भने नदिने जानकारी दिएको छ। ३५ दिन भित्र पेश्की फस्र्यौट गर्न पनि ताकेता गरेको छ।

२०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि कोडिभ १९ महामारीका कारण नवौं समयमा हुन सकेको थिएन। हरेक दुई–दुई वर्षमा आयोजना हुने तालिका भएपनि कोभिड–१९ का कारण नवौं राष्ट्रिय खेलकुद पछि धकेलिएको हो। ३६ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदै छन्।

यसै संस्करणबाट राखेपले रनिङ ट्रफी पनि बनाएको छ। हाल ट्रफी भ्रमणमा रहेको छ। ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा परिक्रमा गराइँदैछ। ओलम्पियन तेक्वान्दो खेलाडी दीपक बिष्टको संयोजकत्वमा रहेको कार्यदलले ट्रफी टुर गराउँदै छन्। उक्त कार्यदलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्वकप्तान पारस खड्का, अल्ट्रा धावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही छन्।

नवौंका प्रतिष्पर्धा गण्डकी प्रदेशको ११ वटै जिल्ला गरिने भनिए पनि सात जिल्लामा मात्र खेलाइने भएको छ। सार्वजनिक खेलतालिकाअनुसार पोखरामा मात्र २६ वटा खेलका प्रतिष्पर्धा हुने भएका छन्। गण्डकीका कुल ११ जिल्लामध्ये तनहुँ, लमजुङ, मुस्ताङ र मनाङमा नवौंका कुनैपनि खेल नहुने भएका छन्।

प्रकाशित: ११ आश्विन २०७९ १२:५१ मंगलबार

नवौं राष्ट्रिय खेलकुद