खेल

धर्म लन्डन म्याराथनमा सहभागी हुने

भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वको प्रतिष्ठित म्याराथनमध्ये एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन्।

धर्मलाई सफलताको शुभकामना दिँदै एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा र भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए। विश्वकै अन्य प्रतिष्ठित बोस्टन म्याराथन र बर्लिन म्याराथन दौडिसकेका धर्म पहिलो पटक लन्डन म्याराथनमा सहभागी हुन लागेका हुन्। उनले ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन्।

घरेलु म्याराथनमा उनको उत्कृष्ट टाइमिङ दुई घण्टा ३५ मिनेट रहेको छ भने अन्तर्राष्ट्रिय म्याराथनमा उनको उत्कृष्ट प्रदर्शन दुई घण्टा ४७ मिनेट हो। बर्लिन म्याराथनको टाइमिङका आधारमा लन्डन म्याराथनका लागि छनोट भएको धर्मले जनाएका छन्। धर्म एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडका कांस्य विजेता हुन्।

प्रकाशित: १० आश्विन २०७९ ०२:१६ सोमबार

धर्म लन्डन म्याराथनमा सहभागी हुने एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक मधुकरशमशेर राणा