खेल

पोखरा रंगशालाभित्र तेक्वान्दोको प्रशिक्षण केन्द्र बन्दै

पोखरा रंगशालाभित्र तेक्वान्दो प्रशिक्षण केन्द्र्रको शिलान्यास गरिदैं।

योजनाको झण्डै एक दशकपछि तेक्वान्दो संघले पोखरा रंगशालाभित्र आफनो सुविधायुक्त प्रशिक्षण केन्द्र(भवन) निर्माण गर्न शिलान्यास गरेको छ।

शनिबार बिहान पोखरा रंगशालास्थित सेमी कभर्ड हलको दक्षिण तर्फ तेक्वान्दोको प्रशिक्षण केन्द्र निर्माण गर्न जग राख्ने काम सुरु गरिएको छ। केन्द्रको शिलान्यास राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शिलान्यास गरे।  

कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङले तेक्वान्दोको भवन बनाउने कस्सिएको दश वर्षपछि सपना पूरा गर्ने अभियानमा रहेको उल्लेख गरे। गुरुङ अहिले गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष हुन्। संघले ५५ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ। विभिन्न संघसंस्था तथा तेक्वान्दोका खेलाडीहरुबाट संकलित सहयोगबाट काम सुरु गरिने उनले बताए।

‘५५ लाख रुपैयाँ संघसँग छ। दुई करोडको योजना हो। थप ५० लाख रुपैयाँ संघले सहयोग जुटाउने छ  बाँकी १ करोड रुपैयाँ राष्ट्रिय खेलकुद परिषदबाट सहयोग प्राप्त हुने विश्वास छ,’ उनले भने, ‘तेक्वान्दोको यो प्रशिक्षण केन्द्र खास गरी राखेपसँगको साझेदारीमा निर्माण पूरा गर्ने योजना छ।’  

प्रशिक्षण केन्द्र १७ मिटर चौडाइ र पहिलो चरणमा २४ मिटर लम्बाइको बनाइने छ। दोस्रो चरणमा थप १२ मिटर लम्ब्याएर ३६ मिटर पुर्‍याउने योजना रहेको समेत संघका अध्यक्ष गुरुङको भनाइ थियो। शिलान्यासपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो आर्थिक वर्षको बजेट सार्वजनिक भइसकेकोले यो वर्ष हाल्न नसकिएको सुनाए।

उनले पूर्वाधार विकास अन्तर्गत खेलकुदका भौतिक पूर्वाधार निर्माणमा संघहरुसँग साझेदारी राखेपले गर्ने प्रतिबद्धता भने जनाए। ‘पूर्वाधार सबै सरकारले मात्रै बनाउँदैन। निजी क्षेत्रबाट बनाउनुपर्छ। निजी क्षेत्रसँगको सहकार्य गर्न परिषद तयार छ। हरेक पूर्वाधार साझेदारीमा बनाउँदा सहज हुँदै गएको छ,’ उनको भनाइ थियो।

प्रशिक्षण केन्द्र निर्माणपछि तेक्वान्दो प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सहज हुने विश्वास संघको छ। तेक्वान्दो इण्डोर गेम भएकै कारण पनि हल निर्माण अत्यावश्यक भएको जिकिर संघको छ। संघले एक वर्षभित्रमा निर्माण पूरा गर्ने लक्ष्य राखेको छ।  

प्रकाशित: ८ आश्विन २०७९ १२:०४ शनिबार

पोखरा रंगशाला तेक्वान्दो