खेल

प्रशिक्षकको राजीनामा माग गर्दै स्पेनी महिला खेलाडी

स्पेनिस महिला फुटबल टोलीका १५ खेलाडीले मुख्य प्रशिक्षक जर्ज भिल्डालाई बर्खास्त नगरेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएको बिहीबार अबेर मात्र त्यहाँको फुटबल संघ स्पेनिस फुटबल संघ (आरएफइएफ)ले बताएको छ।

स्पेनका सञ्चारमाध्ययमले केही सातादेखि राष्ट्रिय टोलीलाई अभ्यास गराइरहेका प्रशिक्षकलाई बर्खास्त गर्न माग गर्दै १५ खेलाडीले आन्दोलन गरिरहेको बताएका थिए। १५ खेलाडीले बिहीबार आरएफइएफलाई हरेक खेलाडीले एउटै इमेलबाट प्रशिक्षकलाई बर्खास्त नगरे राजीनामा गर्ने चेतावनी दिएको संघले जनाएको छ। उनीहरू सबैले एउटै बेहोरा उल्लेख गर्दै संघलाई इमेल गरेको संघले जनाएको हो।

‘स्पेनिस फुटबल संघले आजसम्म राष्ट्रिय महिला टोलीका १५ खेलाडीबाट १५ इमेल प्राप्त गरेको छ। सबैको इमेलमा एउटै बेहोरा उल्लेख गरिएको छ। संयोगवश उनीहरू सबैले हालको परिस्थितिले उनीहरूको भावनात्मक अवस्था र स्वास्थ्यलाई असर गरेको र यो अवस्थाको अन्त्य नभए उनीहरूले राजीनामा दिने उल्लेख गरेका छन्,’ स्पेनिस फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

स्पेनका सञ्चार माध्यमका अनुसार टोलीका खेलाडीहरूले राष्ट्रिय टोलीमको व्यवस्थापनबाट विश्वास गुमाएको तथा पछिल्लो समय टोलीको व्यवस्थापन फितलो भएको, आदिबारे विभिन्न टीकाटिप्पणी गर्दै खेलाडीले प्रशिक्षक बर्खास्त गर्न माग गरेको बताएका छन्।

चेतावनी दिने खेलाडीहरूमा इङ्लिस प्रिमियर लिग खेल्ने केही खेलाडी, स्पेनिस लिग खेल्ने खेलाडी र अन्य लिग खेल्ने खेलाडी रहेको बताइएको छ। यद्यपि संघले कुनकुन खेलाडीले इमेल गरेको भन्नेबारे सार्वजनिक गरेको छैन। तर संघले खेलाडीको मागको विषयमा अध्ययन गरिरहेको र उनीहरूको मागलाई पूरा गर्न प्रशिक्षक बर्खास्तको निर्णय नगर्ने जनाएको छ।

स्पेनको फुटबल इतिहासमा प्रशिक्षकविरुद्ध खेलाडी विरोधमा उत्रिएको यो पहिलो घटना हो। यसअघि महिला र पुरुष कुनै पनि टोलीमा यस्तो घटना नभएको बताएको छ। यस्तै अवस्था विश्वका अन्य कुनै पनि टोलीमा नभएको पनि उल्लेख गरिएको छ। स्पेनले अक्टोबरमा स्विडेन र अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। यसै महिनाको सुरुआतमा महिला लिगको सुरआत गर्ने तालिका भए पनि रेफ्रीको हडतालका कारण लिग समयमा सुचारु हुन सकेको थिएन। सो लिगका पहिलो चरणका खेल सारिएको थियो।  

प्रकाशित: ८ आश्विन २०७९ ०२:५७ शनिबार

स्पेनिस महिला फुटबल टोली प्रशिक्षकको राजीनामा माग