खेल

विद्यालयस्तरीय सडक दौडमा श्रेया र राज प्रथम

संविधान दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रा तर्फ सिद्ध माविकी श्रेया मगर प्रथम भएकी छन्। सोमबार पोखरा महानगरपालिका–१५ को आयोजनामा विद्यालयस्तरी सडक दौड प्रतियोगितामा सोही विद्यालयकी सोनिका परियार दोस्रो र भ्युप्वाइन्ट बोर्डिङ स्कुलकी सजिना सुनार तृतीय भईन्। सिद्ध माविकी रचना चौधरी चौथो बन्न पुगिन् भने, केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गरिन्।  

‘शान्ति र स्थायित्वका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित ३ किलोमिटर दौड छात्र तर्फ हिमालय लाईफ नेपालका राज परियार प्रथम, श्री सिद्ध मा.वि.का विवश रेग्मी द्वितीय, हिमालय लाइफकै विजय विक तृतीय भएका थिए । शुभतारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध मा.वि.का विवेक गुरुङले सान्त्वना पुरस्कार  प्राप्त गरे। दौडमा पोखरा– १५ भित्रका निजी तथा सरकारी एवं बालगृह गरी १७ वटा संस्थाका झण्डै २ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको थियो। विजयी प्रतियोगीले क्रमशः ८, ७, ६ र ३–३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।  

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले ७ औं संविधान दिवसको शुभकामना दिँदै २०७२ सालको संविधानको जगमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहनुपर्नेमा जोड दिईन्।  

गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै ३ किलोमिटर दौडमा सहभागी भएका खेलाडी भोली १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेतर्फ जोड दिइन्।  वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए।

कार्यक्रमका संयोजक तथा पोखरा –१५ का सदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बीच  आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पाने बताए । सशस्त्र मुख्यालय लामापाटनका प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, पोखरा–१४ का वडा अध्यक्ष वोधराज कार्की, पोखरा –१७ कि वडा अध्यक्ष राधिका योगी शाही, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, लगायतले पुरस्कार प्रदान गरेका थिए ।  

प्रकाशित: ३ आश्विन २०७९ १०:११ सोमबार

विद्यालयस्तरीय सडक दौड