खेल

इङ्ल्यान्ड १७ वर्षपछि पाकिस्तानमा: विश्वकपका लागि टोली निर्माणको प्रयासमा दुवै

कराचीमा मंगलबारदेखि सुरु हुने सात खेलको ट्वान्टी–२० क्रिकेट शृंखलापश्चात् आयोजक पाकिस्तानसहित इङ्ल्यान्ड आगामी महिनादेखि तय छोटो फरम्याटको विश्वकपका लागि आफ्नो टोली निर्माण गर्ने प्रयासमा हुनेछन्।

इङ्ल्यान्डले सन् २००५ पछि पाकिस्तानी भूमिमा क्रिकेट खेल्दै छ, जहाँ इङ्लिस टोलीले आगामी ट्वान्टी–२० विश्वकप तयारी पाकिस्तानविरुद्धको शृंखलाबाट गर्नेछ। आगामी ट्वान्टी–२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुँदै छ। लामो समयको प्रतीक्षापछि अस्ट्रेलियाले पाँच महिनाअगाडि पाकिस्तान भ्रमण गरेको थियो। अस्ट्रेलिया २४ वर्षपछि पाकिस्तान पुगेको हो। अस्ट्रेलियाले पाकिस्तानमा सफल भ्रमण गरेपश्चात् अन्य देशका लागि पनि त्यहाँ क्रिकेट खेल्न सुरक्षित स्थान रहेको सन्देश पनि प्रवाह भयो र इङ्ल्यान्डको यात्रा पनि सम्भव बन्यो।

पाकिस्तानी भूमिमा फेरि अन्तर्राष्ट्रिय क्रिकेटका प्रतिस्पर्धा बढ्ने आशा गरिएको छ। सन् २००९ मा श्रीलंकाको क्रिकेट टोलीमा आतंककारी हमलापछि पाकिस्तानी भूमिमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बन्द हुन पुग्यो। त्यसयता लामो समयसम्म पाकिस्तानले आफ्नो ‘होम गेम’ न्युट्रल भेन्युमा नै खेल्दै आएको थियो। इङ्ल्यान्डले गत वर्षको अक्टोबरमा नै पाकिस्तान भ्रमण गर्ने तयारी भइरहेको थियो। यद्यपि, छोटो सूचना जारी गर्दै इङ्ल्यान्डले अन्तिम समय भ्रमण रद्द गर्‍यो। न्युजिल्यान्डले असुरक्षाको कारण पाकिस्तानमा शृंखला नखेल्ने जनाएपछि इङ्ल्यान्ड पनि पछि परेको हो।

त्यो घटनापछि पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) दुवै देशप्रति निकै रुष्ट भयो र जसलाई पाकिस्तानले आफ्नो अपमान भएको प्रतिक्रिया पनि दियो। ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले आगामी डिसेम्बरमा पनि पाकिस्तानसँग टेस्ट क्रिकेट खेल्नेछ। पाहुना टोली इङ्ल्यान्ड वेस्ट इन्डिजसँग ३–२ तथा दक्षिण अफ्रिका र भारतसँग २–१ ले ट्वान्टी–२० शृंखला गुमाएपछि पाकिस्तान भ्रमणमा निस्किएको हो। यता, पाकिस्तान भने एसिया कप फाइनलमा श्रीलंकासँगको हारपछि फर्किने प्रयासमा छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न ट्वान्टी–२० फरम्याटको एसिया कप फाइनलमा पाकिस्तान श्रीलंकासँग २३ रनले स्तब्ध भएको थियो। लामो समयसम्म कप्तानी गरेका इयान मोर्गनले संन्यास लिएपछि इङ्लिस टोलीको नेतृत्व जस बटलरले गर्दै छन्। यद्यपि, उनी नै पिडुँलामा चोटका कारण शृंखलाबाट बाहिरिने सम्भावना छ। ‘आगामी विश्वकपमा टोली निर्माण गर्न यो शृंखला हाम्रा लागि महत्त्वपूर्ण हुन्छ,’ बटलरले भने, ‘हामी सबैको लक्ष्य भनेको नै विश्वकपका लागि तयार हुनु हो। पाकिस्तान निकै बलियो टोली हो र उसले हामीलाई कडा चुनौती दिनेछ।’

उनको अनुपस्थितिमा मोइन अलीले इङ्ल्यान्डको नेतृत्व गर्नेछन्। पाकिस्तानका शीर्ष ब्याट्सम्यान शान मसुदले इङ्ल्यान्डले कडा चुनौती दिने र आगामी विश्वकपअगाडि आफू पनि बलियो टोली रहेको संकेत गर्न सक्ने बताए। पहिलो तीन ट्वान्टी–२० कराची र अन्तिम तीन ट्वान्टी–२० खेल लाहोरमा हुँदै छ। उक्त शृंखलाका लागि करिब चार हजार सुरक्षाकर्मी खटिएको पाकिस्तानी अधिकारीले जनाएका छन्। सुरक्षाका कारण दर्शकले क्रिकेट हेर्नका लागि लामो दूरी पैदल हिँडेर आउनुपर्नेछ। 

प्रकाशित: ३ आश्विन २०७९ ०१:५५ सोमबार

इङ्ल्यान्ड १७ वर्षपछि पाकिस्तानमा विश्वकपका लागि टोली निर्माण