खेल

आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ८ विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा शुक्रबार स्वर्ण पदक जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा सम्पन्न फाइनलमा पुलिसले आर्मीलाई हराउँदै च्याम्पियन हुँदा नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण जितेको हो। ८ ओभरमा घटाइएको खेलमा आर्मीले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गरेको गर्‍यो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। १९ बलको सामना गरेका भुर्तेलले ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय इनिङ खेलेका हुन्।

अर्का ओपनर सुनील धमलाले १७ बलमा २ चौका र ४ छक्काको मद्दतमा अविजित ४२ रनको पारी खेले। १ विकेट गुमाउँदा ९२ रन जोडेको पुलिसले ९९ रन जोड्ने क्रममा कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ रनमा गुमाउन पुगेको थियो। आरिफ शेखले पहिलो बलमा छक्का प्रहार गर्दै पुलिसको जित निश्चित गरे। मजबुत ब्याटिङ गरे पनि आर्मीको बलिङ इनिङ भने राम्रो हुन सकेन। जितेन्द्र मुखिया र सुसन भारीले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले छोट्याइएको ८ ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो। मैदान वर्षाको कारण ओसिलो भएपछि खेल ८ ओभरमा झारिएको हो। सुरुआतमा ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रनको पारी खेले। १४ बलको सामना गरेका विनोदले ३ चौका र ४ छक्का प्रहार गरेका थिए। विनोदका अलावा रोहित पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रनको पारी खेल्दा कुशल मल्लले १३ तथा भीम सार्कीले ११ रन बनाए।

यसअघिका खेलमा राम्रो इनिङ खेलेका अर्जुन साउद पहिलो बलमा पवेलियन फर्किँदा आर्मीलाई झट्का लागेको थियो। अन्य ब्याट्सम्यानले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन्। बलिङतर्फ पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २/२ विकेट निकालेको खेलमा कप्तान दीपेन्द्रसिंह ऐरी र रासिद खानले समान १/१ विकेट आफ्नो नाममा लेखाए।

यस जितसँगै पुलिसले आर्मीसँग समूहचरणमा बेहोरेको हारको बदला लिएको छ। पुलिसले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्णसमेत जितेको छ। फाइनलमा स्तब्ध भएको आर्मीले रजत पदकमा चित्त बुझाएको छ। उपाधिविजेता पुलिसलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र क्यानका पदाधिकारीले पुरस्कार वितरण गरे। प्रतियोगितामा सुदूर पश्चिम प्रदेशले कांस्य पदक जितेको छ। वर्षाका कारण खेल नभएपछि टसबाट निर्धारण गरिएको खेलमा सुदूरपश्चिमले बाजी मार्‍यो। सुदूरपश्चिमले पदकतालिकामा कांस्य दर्ता गर्न सफल भएको हो।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भएको हो। नेपाल क्रिकेट संघको बहुप्रतीक्षित प्रतियोगिताको रूपमा हेरिएको नेपाल ट्वान्टी–२० लिग तय भएको समय भन्दै नवौं प्रतियोगिताअगावै आयोजना गरिएको हो। तर अन्तिम समयमा नेपाल ट्वान्टी–२० लिग सुरक्षा कारण देखाउँदै सारिएको छ। अब ट्वान्टी–२० लिग मंसिरमा आयोजना गर्ने क्यानले जनाएको छ। प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको थियो।

यस जितसँगै पुलिसले आर्मीसँग समूहचरणमा बेहोरेको हारको बदला लिएको छ। पुलिसले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्णसमेत जितेको छ।

प्रकाशित: १ आश्विन २०७९ ०१:५४ शनिबार

नवौं राष्ट्रिय खेलकुद आर्मीलाई हराउँदै पुलिस च्याम्पियन