खेल

इसुजु चितवन गोल्डकपः बिएफसीको फराकिलो जित

इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लबले फराकिलो जित हात पारेको छ।

आज (शनिबार) बाट सुरु भएको गोल्डकपको उदघाटन खेलमा बिएफसीले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको हो। बिएफसीको जितमा फर्वाड राज भुसालले दोस्रो ह्याट्रिक गरे भने रन्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरे।

एकतर्फी खेलको १६औं मिनेटमा रन्जितको गोलमा बिएफसीले अग्रता लियो। वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरे। २८ औं मिनेटमा राजले बिएफसीको अग्रता दोब्बर बनाए।

३३औं मिनेटमा रन्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३–० को अग्रता लियो। ३८औं मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे। पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५–० को अग्रता लियो।

दोस्रो हाफको दोस्रो मिनेटमा राजले व्यक्तिगत चौथो गोल गर्दै बिएफसीको अग्रता लम्बाए। दोस्रो हाफको १७औं मिनेटमा राजको गोलमा बिएससीले ७–० को अग्रता बनायो। २३ औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै बिएफसीको अग्रता ८–० मा पुराए।

दोस्रो हाफको २५औं राजले दोहोरो ह्याट्रिक गरेपछि बिएफसी ९–० ले विजयी भयो। बिएफसीका राज म्यान अफ दि म्याच चुनिए। उनले नगद दश हजार प्राप्त गरे। गोल्डकपमा भोलि नव जन जागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्नेछन्। खेल दिउँसो ४ बजे सुरु हुनेछ।

भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ।

प्रकाशित: २५ भाद्र २०७९ १४:५४ शनिबार

इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल