खेल

राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि काठमाडौंका लामालाई

पोखरामा आयोजित राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता उपाधि काठमाडौंका राजन लामाले जितेका छन्। उनले फाईनलमा आफ्ना निकटतम प्रतिद्वन्द्वी काठमाडौंकै मिलन तामाङलाई वेष्ट अफ थर्टिनमा ७–३ को स्कोरले पराजित गर्दै उपाधि जितेका हुन्।

लामाले १ लाख ५१ हजार १ सय ११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे। उपविजेतालाई भने ७१ हजार १ सय ११ रुपैयाको साथमा ट्रफी, मेडल प्राप्त गरेका छन्। प्रतियोगितामा सेमिफाईनलबाट यात्रा टुंगाएका काठमाडौंका अजय सुनार र पोखराका दीपेश क्षत्रीलाई आयोजकले प्रोत्साहन स्वरुप जनही १५ हजार १ सय ११ नगद रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको थियो। सेमिफाइनलमा राजनले दीपेश र अर्को खेलमा भने मिलनले अजयलाई पराजित गरेका थिए।

त्यस्तै प्रतियोगिताको सर्वाधिक ब्रेकरमा काठमाण्डौंका आले वाङचुक घोषित भए। उनलाई उपाधिको साथमा क्यू, क्यू वक्स, ट्रफी, मेडल र प्रमाण प्रदान गरिएको थियो। प्रतियोगितामा पोखराका दीपेस क्षेत्री नवप्रतिभा खेलाडीको रुपमा घोषित भए। विजयी खेलाडीहरुको टोलीलाई पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा ५ का वडा अध्यक्ष बिष्णुप्रसाद बराल, बुद्धमार्ग टोल सुधार समितिका अध्यक्ष एवं पृथ्वी राजमार्ग बस संचालक कम्पनीका पुर्व अध्यक्ष ऐनकुमार शाही, नेपाल विलियर्ड स्नोकर संघका केन्द्रिय कोषाध्यक्ष गंगामन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।  

प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, बुटवल, चितवन लगायतको क्षेत्रबाट १ सय ६ जना खेलाडीहरु सहभागिता जनाएका थिए। देविज स्नुकर क्लबको आयोजनामा यही भदौं १२ देखि आयोजना गरिएको थियो। पोखरामा पहिलो पटक संचालन भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए। राष्ट्रिय प्रशिक्षक संजयकुमार मुल्मीले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। आगामी करिब २ महिना पछि बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा विजेता खेलाडीको साथमा नेपालका एक नम्बरमा पर्न सफल खेलाडी रेगन श्रेष्ठ सहभागि हुने भएको संघले जनाएको छ।  

पोखरामा करिब ७० वटा पुल क्लवहरु भएपनि कास्कीको संघमा भने करिब १८ वटा मात्र क्लवबहरु आवद्ध भएको क्लवका प्रथमउपाध्यक्ष राजु गुरुङले बताए। पोखरा क्षेत्रमा करिब एक सय ५० भन्दा बढी स्नुकर खेल्ने खेलाडी भएपनि ¥याङकीङमा पर्ने ३२ जना खेलाडीहरु रहेको संघका महासचिव सविन जिसीले बताए। 

प्रकाशित: २२ भाद्र २०७९ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App