खेल

सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो

अस्ट्रेलियाकी महान् टेनिस खेलाडी मार्गरेट कोर्टले कीर्तिमानी ग्रान्ड स्लामबाट एक उपाधि पछि रहेकै अवस्थामा सन्यास लिएकी सेरेना विलियम्सप्रति प्रशंसाको भाव उनको व्यवहारका कारण नभएको प्रतिक्रिया दिएकी छन्। अमेरिकी खेलाडी सेरेनाले कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्रान्ड स्लामको कीर्तिमान बराबरी नगर्दै सोमबार संन्यास लिएकी थिइन्। शुक्रबार युएस ओपनको तेस्रो चरणबाट अस्ट्रेलियाकी अजला टोमल्जानोभिचसँग स्तब्ध भएपछि विश्व खेलकुदबाट बाहिरिएकी सेरेनालाई अहिलेसम्मकै महान् खेलाडीको रूपको प्रशंसा गरिएको थियो। तर, कीर्तिमानी कोर्टले भने सेरेनाको लागि आफूसँग कुनै प्रशंसा नभएको अभिव्यक्ति दिएकी छन्। ४० वर्षीया सेरेनाले २३ ग्रान्ड स्लामसहित ४० वर्षको उमेरमा करियर अन्त्य गरिन्, जहाँ उनी कीर्तिमानी ग्रान्ड स्लामबाट एक कदम मात्र पछि रहिन्।

पुरुष र महिला खेलाडीका लागि नै २४ ग्रान्ड स्लाम सर्वाधिक हो, जुन लामो समयदेखि कोर्टकै नाममा छ। ‘मैले एक खेलाडीका रूपमा उनको प्रशंसा गरेको छु,’ कोर्टले बेलायतको एक सञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा भनिन्, ‘तर, उनले (सेरेना) कहिल्यै मेरो प्रशंसा गरिनन्। उनले प्रशंसा गरिन् भन्ने केही लागेन।’ ८० वर्षीया कोर्ट अहिले पनि पर्थको एक चर्चकी पास्टर हुन्। समलिङ्गी विवाहको विरोधबारे कोर्टको टिप्पणीका कारण टेनिसमा उनको विभाजनकारी व्यक्तित्व बनेको छ। सन् १९६० र सन् १९७० को दशकमा सानदार रेकर्डका बावजुद टेनिसले आफ्नो प्रशंसा नगरेको उनको भनाइ छ।

‘अहिले धेरै सञ्चारमाध्यम छन्। खेलकै लागि भनेर कयौं विश्वचर्चित टेलिभिजन पनि छन्। तर, दुःखका साथ भन्नुपर्छ उनीहरूले कहिल्यै मेरो नाम लिँदैनन्,’ कोर्टले भनिन्, ‘अहिले पनि मैले रेकर्ड आफ्नो नाममा राखेको छु। त्यही भएर मात्र त्यहाँ मेरो नाम आएको हो। सन् २०२० मा म विम्बल्डन हेर्न गएको थिएँ, किनकि त्यो समय मेरो ग्रान्ड स्लामको ५०औं वर्ष थियो।’ आफ्नै देशले पनि कदर नगरेको उनको आरोप छ। ‘कहिल्यै पनि मैले सम्मान पाइनँ। मैले मेरै देशका लागि पनि कयौं उपाधि दिलाएँ। तर, उनीहरू अझै पनि मेरो नाम लिन चाहँदैनन्,’ कोर्टले भनिन्, ‘त्यो वर्ष म विम्बल्डनमा आउँदा कोही पनि मसँग बोलेनन्। त्यस समय मलाई धेरै अचम्म लाग्यो।’

सिंगल्स, डबल्स र मिक्स डबल्समा गरेर समग्रमा कोर्टले ६४ ग्रान्ड स्लाम जितेकी छन्। जबकि विलियम्सको नाममा ३९ ग्रान्ड स्लाम छ। ‘मेरो यो रेकर्डनजिक कोही पुग्छन् जस्तो मलाई लागदैन,’ अस्ट्रेलियन कोर्टले भनिन्, ‘जसले सन् १९७३ मा अन्तिम पटक सिंगल्सतर्फ ग्रान्ड स्लाम जितेकी थिइन्। सेरेनाले आफूभन्दा सात वर्ष बढी खेलेको पनि उनले जिकिर गरिन्। ‘उनले मभन्दा सात वर्ष बढी खेलिन्। मैले ३० वर्षको सुरुमै मेरो करियर अन्त्य गरेकी थिएँ। त्यसको दुई वर्षमा नै मानिसहरूले मलाई बिर्सिए,’ उनले भनिन्। एस्लेघ बार्टीले जस्तै २५ वर्षमा नै आफूले पहिलोपटक संन्यास लिएको र पछि फर्किएको उनले बताइन्।

‘मैले पनि एस्लेघ बार्टीले जस्तै २५ वर्षमा नै पहिलो पटक संन्यास लिएँ। त्यो बेला कहिल्यै टेनिसमा फर्किन्नँ भन्ने लाग्यो। त्यसपछि मैले बिहे गरें र बच्चा भयो। त्यो वर्ष नै मेरो उत्कृष्ट करियरमा थियो। मैले २५ मध्ये २४ प्रतियोगिता जितें,’ कोर्टले स्मरण गरिन्। आमा बनेपछि सेरेनाको तुलनामा आफ्नो रेकर्ड राम्रो रहेको कोर्टले जिकिर गरेकी छन्। ‘दुई वटा बच्चाको आमा भएपछि म फर्किएँ,’ उनले भनिन्, ‘पहिलो बच्चा भएपछि मैले चारमध्ये तीन ग्रान्ड स्लाम जितें। तर, सेरेनाले आमा बनेपछि एउटा पनि जित्न सकिनन्।’ साथै कोर्टले आफ्नो समय निकै कठिन रहेको समेत धारणा राखेकी छन्।

‘एमेच्योर खेलाडीका रूपमा हामीले हरेक हप्ता खेल्थ्यौं। किनकि हामीले पैसा पाउँदैनथ्यौं। तर, अहिले जुन समय पनि हवाईजहाज चढ्ने र फर्किने अवस्था हुन्छ। हामी १० महिनासम्म घरबाहिर रहन्थ्यौं। त्यसैले नै मैले सन् १९६५ मा नै पहिलो पटक संन्यास लिन बाध्य भएँ। किनकि म ‘होमसिक’ हुन पुगें,’ उनले भनिन्, ‘अहिले खेलाडीको परिवार नै कोर्टमा आउँछन्, त्यति बेला त्यो अवस्था थिएन। हामीले कुनै प्रशिक्षक या मानसिक विशेषज्ञ पनि पाउँदैथ्यौं। त्यसैले त्यो र अहिलेको समयमा धेरै फरक छ। त्यसैले अहिलेका खेलाडीले हाम्रा पालाका खेललाई सम्मान नगर्दा मलाई दुःख लागेको हो।’  

प्रकाशित: २२ भाद्र २०७९ ०१:०४ बुधबार

अस्ट्रेलियाकी महान् टेनिस खेलाडी मार्गरेट कोर्ट सेरेनाको व्यवहारप्रति कोर्टको गुनासो