खेल

दुवैलाई उत्तिकै दबाब

भारत–पाकिस्तान प्रतिस्पर्धा

पाकिस्तानका ब्याट्सम्यान मोहम्मद रिजवानले एसिया कपमा चिर परिचित प्रतिद्वन्द्वी भारतसँग आइतबारको दोस्रो प्रतिस्पर्धामा आफ्नो टोलीले धैर्य र साहसका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।

बाबर आजमको टोली पाकिस्तानले समूहचरणमा शुक्रबार हङकङमाथि एक सय ५५ रनको जित निकाल्दै सुपर चारमा स्थान बनाइसकेको छ। सुपर चारमा सबै टोलीले एक अर्काबीच १÷१ खेल खेल्नेछन् र शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। सुपर चारमा अफगानिस्तान, भारत, पाकिस्तान र श्रीलंका छन्।

आइतबार सुपर चारको दोस्रो खेलमा पाकिस्तानले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ, जहाँ दुबई क्रिकेट स्टेडियममा दर्शकले भरिभराउ हुने अनुमान गरिएको छ। ‘भारतसँग खेल्नु जहिल्यै पनि दबाबपूर्ण नै हुन्छ। एसिया मात्र होइन, विश्व नै हाम्रो प्रतिस्पर्धाको प्रतीक्षामा हुन्छ,’ हङकङसँग ७८ रनमा अविजित रिजवानले भने।

भारत र पाकिस्तान दुवैलाई उत्तिकै दबाब हुने रिजवानको भनाइ छ। ‘दबाब भारत र पाकिस्तान दुवैलाई उत्तिकै हुन्छ। तथापि, नतिजा भने साहस र धैर्य राख्ने टोलीले आफ्नो पक्षमा बनाउन सक्छ,’ विकेटकिपर ब्याट्सम्यान रिजवानले भने।

पाकिस्तानले १९३/३ को योगफल तयार पार्‍यो र जबाफमा हङकङलाई ३८ रनमा नै रोक्यो। ‘मैले खेलाडीलाई भारत या हङकङसँग खेल्दा उत्तिकै सहज भएर खेल्न भनेको छु। यो ब्याट र बलको खेल हो। यहाँ कोही टोली पनि कमजोर हुँदैनन्,’ ३० वर्षे रिजवानले भने, ‘हाम्रो आत्मविश्वास उच्च छ। तर, कडा मिहिनतले मात्र नतिजा हाम्रो पक्षमा आउँछ।’ भारत र पाकिस्तानबीचको हरेक खेल दर्शकले भरिपूर्ण हुन्छ।

डिजिटल प्लेटफम्र्स र टिभीमा हेर्ने पनि उत्तिकै हुन्छन्। यी दुई राष्ट्र विश्वका ठूला प्रतियोगितामा मात्र एकअर्काबीच खेल्ने गर्छन्। राजनीनिक टकरावका कारण क्रिकेटका शृंखला हुने गरेका छैनन्। दुवै देशका समर्थक यसै एसिया कपमा यी देशबीच तेस्रो भेट हुने अपेक्षामा छन्।

‘हामीले राम्रो क्रिकेट खेल्न आवश्यक छ र अनि मात्र फाइनलमा स्थान सम्भव छ,’ रिजवानले भने, ‘हाम्रा समर्थकको चाहना पनि त्यही छ। आशा गरौं हाम्रा खेलाडीले पनि त्यो सम्भव गराउनेछन्।’ रिजवान र कप्तान आजमकै प्रेरणामा पाकिस्तानले गत ट्वान्टी–२० विश्वकपमा भारतमाथि १० विकेट रबाफिलो जित निकालेको थियो। 

प्रकाशित: १९ भाद्र २०७९ ०१:१५ आइतबार

भारत–पाकिस्तान प्रतिस्पर्धा