खेल

महिला साफ च्याम्पियनसिपकाे तयारी पूरा, टिकट मूल्य ३ सय र ५ सय

अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौँमा हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै सबै तयारी पूरा भएको जानकारी दिएको हो।

एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजनाका लागि  तयारी पूरा भएको बताए। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ। साफ च्याम्पियनसिप प्रतियोगिता आयोजनाका लागि ३ करोड, ४७ लाख ६७ हजार ६८० रुपैयाँ खर्च लाग्ने एन्फाले जनाएको छ।

प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकेटिङसहित ब्रोडकास्टिङ र मार्केटिङ अधिकार यसअघि नै भारतीय कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई  ६५ लाखमा दिइएको बताएको छ। यस्तै प्रतियोगिताको प्रत्यक्ष प्रशारण एपी वान टेलिभिजनले गर्ने भएको छ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन्। बाँकी टिम आइतबारसम्म नेपाल आउने जानकारी दिइएको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनाएको छ। प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुनेछन्। रंगशालाको साधारणतर्फ ९ हजार र भीआइपीतर्फ ३ हजार सिट क्षमता रहेको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०९:३५ शुक्रबार

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला साफ च्याम्पियनसिप फुटबल