खेल

जहदा सेमिफाइनलमा

मोरङ जहदाको जहदा भेट्रान क्लब विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सम्पन्न खेलमा जहदाले विराटनगरको हाटखोला भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। दुवै टोलीमा राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन क्लबबाट खेलेर नाम चर्चा कमाएकाहरु थिए। नेपाली टोलीका पूर्व कप्तान सागर थापा नेतृत्वमा रहेको हाटखोला मध्यान्तरअघि २ गोलले अगाडि रहे पनि मध्यान्तरपछि जहदाले आफ्नो खेलको लय फर्काउँदै २ गोल फर्काउन सफल भयो। निर्धारित ७०  मिनेटको समयमा दुवै टोलीबाट २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो।  

टाइब्रेकरमा जहदाका लागि डेनिम राई, विमल गुरुङ, मित्रबहादुर बस्नेत, सुवास सब्बा र संजीव बुढाथोकीले गोल गरे। हाटखोलका लागि नरेश श्रेष्ठ, विक्रम श्रेष्ठ र राजकुमार घिसिङले गोल गरे भने विष्णु सुनारको प्रहारलाई गोलरक्षकले विफल पारे।  

हाटखोलाका विक्रम श्रेष्ठले खेलको २० औं मिनेटमा तेजबहादुर गलामीको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ३५ औं मिनेटमा हाटखोलाकै राजकुमार घिसिङले डिबक्स अगाडिबाट गरेको सिधा प्रहारमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए। सुवास सुब्बा जहदाका लागि ४५ औं मिनेटमा गोल गर्दै गोल मतान्तर कम पारे। ६७ औं मिनेटमा डेनिम राईले पेनाल्टीमार्फत गोल गर्दै गोल संख्या बराबरी पारे। हाटखोलका गोलरक्षकले जहदाका सुवास सुब्बालाई डिबक्सभित्र तानेर लडाएपछि पेनाल्टी पाएका थिए। म्यान अफ द म्याच जहदाका डेनिम राई भए। प्रतियोगिताअन्तर्गत बिहीबार रातिको पहिलो सेमिफाइनल खेल आयोजक विराट मेघा स्पोर्ट्स एकेडेमी र मोरङकै सिद्राहा भेट्रान क्लबबीच हुनेछ।

प्रकाशित: १६ भाद्र २०७९ ०७:०३ बिहीबार

विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता