खेल

हाटखोलाको फराकिलो जित

विराटनगरकै हाटखोला भेट्रान क्लबले आयोजक ‘ए’ लाई १०–० ले पराजित गर्दै विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।  

सोमबार राति भएको खेल पूरै समय आफ्नो कब्जामा राखेर एकलौटी प्रदर्शन गरेको हाटखोलाको जितमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल खेलेर अनुभव बटुलेका खेलाडीको बाहुल्य थियो।

हाटखोलाबाट राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापासहित ८ जना ‘ए’ डिभिजन खेलमा सहभागी भई अनुभव बटुलेका खेलाडी मैदानमा थिए। आयोजकको टोलीमा सुरेन्द्र तामाङबाहेक अन्य खेलाडी अनुभवविहीन थिए ।

म्यान अफ दी म्याच राजकुमार घिसिङले ह्याट्रिक गोल गरे। राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापा र विक्रम श्रेष्ठले २/२ गोल, तेजबहादुर घलानी, सुमन श्रेष्ठ तथा नरेश श्रेष्ठले समान १ गोल गरे।  

खेलको १६ र ५१औं मिनेटमा विक्रम श्रेष्ठले गोल गरे। २१औं मिनेटमा तेजबहादुरले गोल थप्दै टोलीलाई अघि बढाए। २८औं मिनेटमा सुमन श्रेष्ठले गोल थपे। ३९औं मिनेटमा नरेश श्रेष्ठले पनि गोल गरे।

४५, ४९ र ६७औं मिनेटमा राजकुमार घिसिङले गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक पूरा गरे। हाटखोलाका कप्तान सागर थापाले ४७औं र ५५औं मिनेटमा गोल गरे।  

प्रतियोगिताअन्तर्गत मंगलबार मधेस प्रदेशको लाहन भेट्रान क्लबले आयोजक विराट मेघा भेट्रान क्लब ‘बी’ सँगप्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १५ भाद्र २०७९ ०१:२८ बुधबार

विराटनगरकै हाटखोला भेट्रान क्लब हाटखोलाको फराकिलो जित