खेल

रासिदद्वारा ठूला टोलीसँग खेल्न माग

तस्बिरमा : रासिद खान

अफगानिस्तानका जादुमयी स्पिनर रासिद खानले विश्वका उत्कृष्ट लिग खेलेकाले आफूलाई सहज भए पनि देश र प्रतिभावान् क्रिकेटरको म्याच एक्सपोजर लागि विश्वस्तरीय टोलीसँग खेल आवश्यक रहेको धारणा राखेका छन्।

मोहम्मद नाबी नेतृत्वको अफगानिस्तानले ट्वान्टी–२० एसिया कपको उद्घाटन खेलमा विश्वकप विजेता श्रीलंकमाथि रबाफिलो जित निकाल्दै आफूलाई विश्व क्रिकेटको नयाँ शक्तिका रूपमा प्रस्तुत गरिसकेको छ। युद्धले पिल्सिएको देशबाट रासिद विश्व क्रिकेटमा चम्किलो क्रिकेटरका रूपमा उदाएका थिए र जहाँ उनले देशमा कयौं अँध्यारा रात पनि सामना गर्नुपर्‍यो।

गत वर्ष मात्र अफगानिस्तानलाई पूर्वविद्रोही समूह तालिबानले कब्जामा लिइसकेको छ। विभिन्न किसिमका बाधा र अवरोधका बावजुद अफगानिस्तानलाई सन् २०१८ मा टेस्ट टोलीका रूपमा उभ्यायो र डेब्युमा भारतविरुद्ध टेस्ट खेल्यो।

साथै पछिल्ला समय विश्व क्रिकेटका हस्तीमाझ युवा अफगानिस्तानले आफ्नो अस्तित्व प्रस्तुत गरेको छ। अफगानिस्तानी टोलीको ऐतिहासिक सफलताको यात्राका पछाडि २३ वर्षे रासिद खानसँगै नाबी र पूर्वकप्तान असघर अफगानको भूमिका विशेष छ। उनै रासिदले विश्व क्रिकेटको क्यालेन्डरमा अफगानिस्तानलाई ठूलो टोलीसँग खेल्ने अवसर दिनुपर्ने माग राखेका छन्। ‘हामीले पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनौं।

विशेषतः ठूलो फरम्याटमा हो। भविष्यमा यस्ता कार्यक्रम हुन सक्ला ? त्यस किसिमको खेलमा हामी खेलाडीको भूमिका रहन सक्दैन,’ रासिदले भनेका छन्। उनले आफ्नो देश र त्यहाँका युवा क्रिकेटहरूले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने चाहेको धारणा राखेका छन्। ‘हामी धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल्न चाहन्छौं। त्यसले हाम्रा युवा क्रिकेटरहरूलाई अगाडि बढ्न पनि मद्दत गर्नेछ। उनीहरूले यस किसिमको अवसर पाउन जरुरी पनि छ,’ रासिदको भनाइ छ।

 सन् २०२२ को अप्रिलदेखि सन् २०२७ को मेसम्म अफगानिस्तानले ५३ एकदिवसीय, ७१ ट्वान्टी–२० र २२ टेस्ट म्याच खेल्नेछ। तीमध्ये पनि अधिकांश तल्लो वरीयताका टोली आयरल्यान्ड र जिम्बाब्वेसँग तय छ।  लेग स्पिनका बादशाह रासिद छोटो फरम्याटका क्रिकेटमा विश्वका उत्कृष्ट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) र द हन्डे«डका स्थापित क्रिकेटर हुन्। ‘विश्वका अधिकांश क्रिकेट लिग खेल्दा हामीलाई केही अनुभव मिल्छ।

जहाँ हामीले उत्कृष्ट खेलाडीसँग धेरै सिक्न पाउँछौं,’ रासिदले भने, ‘हामीले पाएका अनुभव राष्ट्रिय टोलीमा पनि प्रयोग गर्छौं र त्यो हामी टिममा पनि साट्छौं। अन्य क्रिकेटर पनि विश्वका ठूला टिम र चर्चित लिगसम्म पुग्नुपर्छ। यसले हामीलाई विशेषतः ब्याटिङमा सहयोग मिल्नेछ।’  

जायन्ट किलरका रूपमा चिनिन थालेको अफगानिस्तानले एसिया कपमा बलियो श्रीलंकालाई ८ विकेटले नै स्तब्ध बनाएपछि विश्व क्रिकेटमा नयाँ शक्ति हुन सक्ने आशा गरिएको छ। विश्वकप विजेता तथा बलियो विपक्षीलाई १ सय ५ रनमै समेट्नु र त्यो लक्ष्यमा पनि १०.१ ओभरमा नै पूरा गर्नुले शक्तिशाली टोलीका बीच अफगानिस्तानको उदयप्रति दुई मत नहोला।

 ‘हामीले राम्रो तयारी गर्‍यौं र सोहीअनुरूप श्रीलंकाविरुद्ध खेलेका हौं,’ रासिदले भने, ‘हामी जहिल्यै पनि शतप्रतिशत दिन्छौं। कमजोर या बलिया टोलीविरुद्ध उतिकै इफोर्ट लगाउँछौं। भारतविरुद्ध होस् या हङकङसँग होस् उस्तै तयारी र मिहिनेत गछौं।’

प्रकाशित: १५ भाद्र २०७९ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App