खेल

ब्याटिङ नचल्दा नेपाल केन्यासँग पराजित

चौथो टी-ट्वान्टी अन्तराष्ट्रियमा क्रिकेट खेलमा केन्यासँग नेपाल पराजित भएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको हो।

केन्याले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए पनि अन्य खेलाडी दोहोरो रन जोड्न नसक्दा नेपाल पराजित भएको हो। आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट भए। करण केसी ५ रन,आरिफ शेख २ रन,पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सकेनन्।

सन्दीप लामिछाने अविजित ४ रन, असाहब आलम शून्य रनमा अविजित रहे।

केन्याका रकिप पटेलले ३ विकेट लिए। भिराज पटेल, शेम एन्गोचे  र एलिज्ह ओटिनोले २/२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको थियो।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। कोलिन्स अबुयाले २० रन बनाए भने कप्तान शेम एन्गोचेले १३ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

केन्यालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए।आदील अन्सारीले २ तथा साहब आलम र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।  

प्रकाशित: १३ भाद्र २०७९ १३:३३ सोमबार

टी-ट्वान्टी अन्तराष्ट्रियमा क्रिकेट