खेल

एएफसीले एन्फालाई लगायाे ७ हजार अमेरिकी डलर जरिवाना

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले ७ हजार अमेरिकी डलर जरिवाना  गरेको छ।

कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको २ वटा आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो।

एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४ इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल प्रतिबन्धमा रहे पनि खेलमा संलग्न भएपछि एएफसीले ६ हजार डलर जरिवाना लगाएकाे हाे। 

तेस्रो चरण अन्तर्गत समूह एमा जोर्डन र कुवेत विरुद्धको खेलमा लगातार पहेँलो कार्ड पाएपछि अल्मुताइरीमाथि एक खेलको प्रतिबन्ध थियो। तर उनी इन्डोनेसिया विरुद्धको तेस्रो खेलमा मैदान र ड्रेसिङ रुममा प्रवेश गरेको पाइएपछि एएफसीले जरिबाना लगाएको हो। त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ।

एएफसी अनुशासन र आचार संहिताको धारा ३४.१ र ३४.३ अनुसार एन्फाले जरिवाना मध्येको १ हजार ५०० डलर यो निर्णय भएको मितिबाट ९० दिन भित्र तिर्नु पर्नेछ। बाँकी ४ हजार पाँच सय अमेरिकी डलर भने एएफसीले २ वर्षको परीक्षणकालका लागि रोक्का गरिने छ। यो २ वर्षमा यस्तै नियम उल्लंघन गरेर त्यो रकम जफत हुने र थप जरिवाना लाग्ने एएफसीले चेतावनी दिएको छ।

प्रकाशित: १३ भाद्र २०७९ ११:०३ सोमबार

एएफसी एसियन कप अखिल नेपाल फुटबल संघ