खेल

एसिया कप क्रिकेट: व्यग्र प्रतीक्षामा पाकिस्तान र भारतबीचको खेल

भारतीय क्रिकेटर केएल राहुलले राजनीतिक रूपमा कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग आइतबार हुने एसिया कप क्रिकेटमा भिडन्तका लागि आफूहरू उत्साहित रहेको बताएका छन्।

राजनीतिक टकरावका कारण लामो समयदेखि दुई देशबीच विश्व खेलकुदका प्रतिस्पर्धामा कमै मात्र भेट हुने गरेको छ। पाकिस्तान र भारतले सन् २००७ यता एकअर्काबीच टेस्ट क्रिकेट पनि खेलेका छैनन्। छोटो फरम्याट र विश्व खेलकुदका क्रिकेटमा पनि यी दुई प्रतिद्वन्द्वी तटस्थ मैदानमा मात्र भिड्ने गरेका छन्।

शनिबारदेखि एसिया कप क्रिकेट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु भैसकेको छ। यद्यपि, समर्थकले पाकिस्तान र भारतबीचको क्रिकेट प्रतिस्पर्धाका लागि आइतबारसम्म कुर्नुपर्नेछ। यसैबीच भारतका क्रिकेटर राहुलले पनि पाकिस्तानसँगको प्रतिस्पर्धाका लागि निकै उत्साहित रहेको बताएका हुन्।

‘हामी निकै उत्साहित छौं। खेलाडीका रूपमा पनि हामी सदैव भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा कुरिरहेका हुन्छौं,’राहुलले भने, ‘हामीबीच प्रतिस्पर्धाको एउटा छुट्टै इतिहास छ। दुवै देश एकअर्काको कडा प्रतिद्वन्द्वी हुन् र खेलमा पनि तनावपूर्ण अवस्था रहन्छ। एक खेलाडीका रूपमा हामी सधैं पाकिस्तानसँग खेल्न चाहन्छौं।’ अहिले पनि यी दुई देशका सेनाहरू बेलाबेलामा एक अर्काविरुद्ध भिड्ने गरेका छन्। सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रतापश्चात् छुट्टिएका पाकिस्तान र भारतबीच चार पटक युद्ध भैसकेको छ।

केही दिन अगाडि मात्र दुबईमा अभ्यासका दौरान पाकिस्तानका कप्तान बाबर आजम र भारतका पूर्वकप्तान विराट कोहलीबीचको छलफल भएको भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको थियो। ‘हामी कहिल्यै पनि प्रतिद्वन्द्विता या आफ्ना भावनाहरूबाट टाढा जान सक्दैनौं, किनकी हामी खेलाडी हौं,’राहुलले भने, ‘खेल अगाडि या पछाडि पाकिस्तान र भारतका खेलाडीबीच एक सामान्य मानिससरह कुरा हुन्छ। हामी एक आपसबाट सिक्छौं र अनुभव साट्छौं। सदैव हामीबीच निकै मैत्रीपूर्ण सम्बन्ध पनि हुने गरेको छ।’

यी देशबीचको क्रिकेट सबैभन्दा धेरै हेरिने खेलमा पर्छ। विश्वभरबाट लाखौं मानिसले त्यसलाई प्रत्यक्ष हेर्ने गरेका छन्। पछिल्लो भेटमा पाकिस्तानले भारतमाथि १० विकेटको रबाफिलो जित दर्ता गरेको थियो। गत वर्ष दुबईमा सम्पन्न ट्वान्टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई निरिह बनाएको हो। ‘विश्वकपमा हार बेहोर्नु निकै दुखको क्षण हो,’भारतका उपकप्तान राहुलले भने, ‘त्यतिबेला हामी बलियो पाकिस्तानसँग निरास भयौं। तर, यसपटक बदला लिने अवसर पनि छ। हामी कति पटक खेल्यौं, हामीले कति पटक जित्यौं या हार्‍यौं भन्ने पक्ष महत्त्वपूर्ण होइन। किनकी जित्नका लागि सदैव शून्यबाट सुरु गर्नुपर्छ।’

गत प्रतिस्पर्धामा तीव्र गतिका बलर साहिन साह अफ्रिदीको नेतृत्वमा पाकिस्तानले भारतीय टोलीको ब्याटिङ ध्वस्त पारेका थिए। यद्यपि, यस पटक उनी चोटका कारण पाकिस्तान टोली बाहिर छन्। ‘पछिल्ला दुई वर्ष उनले (साहिन साह) कस्तो प्रदर्शन गरिरहेका छन्, त्यो हामी सबैले देखेका छौं। उनी विश्वकै उत्कृष्ट बलर हुन् र उनको बलिङ निकै उच्च छ,‘राहुलले भने, ‘बायाँ हाते बलर पछिल्ला समय निकै खतरानाक हुने गरेका छन्। उनीहरूले ब्याटरलाई संघर्ष गर्न बाध्य पार्छन्। यदि उनी खेलेको भए, हामीले पनि उत्कृष्ट बलरसँग खेल्ने अवसर पाउथ्यौं।’ राहुलले पूर्वकप्तान विराटको खराब लयबारे टोली चिन्तित नरहेको स्पष्ट पारे। साथै विराट छिट्टै उत्कृष्ट लयमा फर्कनसमेत उनको विश्वास छ।

प्रकाशित: १२ भाद्र २०७९ ०१:०७ आइतबार

व्यग्र प्रतीक्षामा पाकिस्तान र भारतबीचको खेल भारतीय क्रिकेटर केएल राहुल