खेल

वरीयता सुधार्दै विश्वकप खेल्ने लक्ष्य

 नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूहरूको लक्ष्य विश्व वरीयताको शीर्ष १२ मा रहँदै सन् २०२४ को ट्वान्टी२० विश्वकपको टिकट पक्का गर्र्ने रहेको बताएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारबाट सुरु हुने पाँच ट्वान्टी २० शृंखला र तीन एकदिवसीय शृंखलाका लागि केन्याको भ्रमण गर्दै छ। ‘हामीलाई सबैले आफूभन्दा कम वरीयताको केन्याको भ्रमण किन गर्न लागेको भनेर प्रश्न उठेको छ,’ चन्दले भने, ‘युएईसँग पराजित भएर हामी  

ट्वान्टी–२० विश्वकप २०२२ मा छनोट हुन सकेनाैं। त्यो हाम्रो लागि दुर्भाग्य हो। हामीले समूहचरणमा उत्कृष्ट प्रदर्शन गरेका थियौं। यस क्रममा हामीले चार खेल जितेका थियाैं भने युएईले तीन खेल जितेको थियो। राउन्ड रोबिन लिग भएको भए सायद हामी पनि विश्वकपमा छनोट हुने थियौं।’

‘कहिले कोरोनाको कारण देखाएर त कहिले खेलतालिका सार्वजनिक भएपछि पनि खेल सार्ने प्रवृत्ति छ,’ चन्दले अघि भने, ‘प्रतियोगिता गरिहाले पनि समूहविभाजन गर्दा हामी जहिले पनि मारमा पर्‍यौं। उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि हामी पछि पर्‍यौं। त्यो हाम्रा लागि दुखद पक्ष भयो। त्यसैले केन्या भ्रमण हाम्रा लागि सुखद नतिजासहित ट्वान्टी २० वरीयतामा सुधार गर्ने सुनौलो अवसर हो।’

चन्दले २०२४ को ट्वान्टी २० विश्वकपमा नेपाल स्वतः छनोट हुने सम्भावना रहेकाले धेरैभन्दा धेरै ट्वान्टी२० शृंखला खेल्ने समेत बताए। ‘हामीले केन्या भ्रमणबाट ठूलो अपेक्षा राखेका छांै,’ उनले भने, ‘नोभेम्बर १५ सम्ममा विश्व वरीयताको शीर्ष १२ मा रह्यो भने नेपालले स्वतः विश्वकपको टिकट पक्का गर्नेछ। त्यसैले खेलाडीहरूले यसबारे अहिलेबाटै मानसिक रूपमा तयार रहनुपर्‍यो।

वेस्ट इन्डिजको वरीयता कहिले छैटाैं त कहिले सातौं स्थानमा रहेको छ। वेस्ट इन्डिज आठाैं स्थानमा झरेको खण्डमा भने हामीमाथि शीर्ष ११ मा पर्ने दबाब हुनेछ। युएई, आयरल्यान्ड र जिम्बाब्वेले एसिया कप र ट्वान्टी २० विश्वकप खेल्दै छन्। जसको प्रदर्शनबाट उनीहरूले पनि आफ्नो वरीयता सुधार गर्न सक्छन्। त्यसैले हामीले यो पक्षमा पनि ध्यान दिन आवश्यक छ।  

नेपाल एक सय ८५ रेटिङसहित हाल ट्वान्टी २० विश्व वरीयताको १४औं स्थानमा छ। ११औं स्थानको जिम्बाब्वेको एक सय ९४, १२औं स्थानको युएईको एक सय ९२ र १३औं स्थानको आयरल्यान्डको एक सय ८६ रेटिङ छ। १५औं स्थानको स्कटल्यान्डको भने एक सय ८३ रेटिङ रहेको छ।

साथै चन्दले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टुका लागि नामिबिया भ्रमण गर्ने तालिका रहेकाले केन्याविरुद्ध हुने तीन एकदिवसीय शृंखला पनि सुखद हुने आशा व्यक्त गरे। ‘हामीले आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत अमेरिका र स्कटल्यान्ड भ्रमण गर्‍याैं। जुन सम्झनलायक रहेन,’ चन्दले भने, ‘त्यसैले हामी नामिबियाविरुद्ध हुने शृंखला हाम्रा लागि महत्वपूर्ण छ।

हाम्रोमा अहिले वर्षायाम चलिरहेको छ। त्यसैले यहाँ नियमित रूपमा फिल्डमा अभ्यास गर्न सम्भव छैन। जसका कारण हामीले प्रदर्शनमा सुधार होस् भनेर केन्याको भ्रमण गर्न लागेका हौं।’ नेपाल आइसिसी विश्वकप क्रिकेट लिग टु तालिकाको छैटाैं स्थानमा छ।

सुखद नतिजाको आशा : प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले छोटो समयको तयारी भए पनि केन्या भ्रमणमा सुखद नतिजा ल्याउने आशा व्यक्त गरेका छन्। गत महिना तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेले पारिवारिक कारण देखाउँदै पद छोडेपछि प्रभाकर मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। प्रभाकरको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो शृंखला हो।

‘हामीले दुई–तीन दिन मात्र प्रशिक्षण गर्‍याैं,’ केन्या भ्रमणमा निस्कने नेपाली टोलीको बिदाइ कार्यक्रममा प्रभाकरले भने, ‘वर्षाका कारण फिल्डमा हामीले अभ्यास गर्न नपाए पनि इन्डोरमा हामीले अभ्यास गरेका थियाैं। टोलीमा युवा खेलाडीको बाहुल्य छ। जुन आगामी दिनका लागि सुखद पक्ष हो। टोलीका कप्तान सन्दीप लामिछाने पनि युवा प्रतिभा हुन्। उनी निकै सहयोगी छन्। आइसिसी विश्वकप क्रिकेट लिग टुअघि टोलीको अवस्था बुझ्न पनि केन्या भ्रमण फलदायी हुनेमा विश्वस्त छु।’  

त्यस्तै कप्तान सन्दीपले टोलीमा केही नयाँ अनुहार आएको र केही अनुभवी खेलाडीको पुनरागमन भएकाले पनि केन्या भमण महत्वपूर्ण रहेको बताए। टोलीमा अर्जुन साउदले पहिलो पटक स्थान बनाउँदा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्धको शृंखलासँगै टोलीमा पुनरागमन गरेका छन्।

‘नयाँ प्रशिक्षकको प्रशिक्षणमा यो हाम्रो पहिलो शृंखला हो,’ सन्दीपले भने, ‘हामीले लामो समयसम्म तयारी गर्न पाएनौं। तर पनि तयारी सन्तोषजनक भएको छ। युवा खेलाडीको जोस र अनुवभी खेलाडीको अनुभवले गर्दा टोली सन्तुलित बनेको छ। जसबाट सुखद नतिजाको अपेक्षा राख्न सकिन्छ।’

प्रकाशित: ७ भाद्र २०७९ ००:४९ मंगलबार

नेपाल क्रिकेट संघ (क्यान) प्रभाकर नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द