खेल

अन्तर स्कुल बास्केटवलः ६ टिम फाइनलमा प्रवेश

आ-आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै भक्तपुरमा जारी छैठौं एभरेष्ट अन्तर स्कुल बास्केटवल प्रतियोगितामा ६ वटा टिमहरु फाइनलमा प्रवेश गरेका छन्।

एभरेष्ट इंगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको सेमिफाइनल खेलबाट सैनिक, ज्ञान निकेटन, युनिक, ज्ञान निकेटन, तिरुपति र इनोभेटिभ फाइनलमा प्रवेश गरेका हुन्।

सिनियर व्याइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौँ, ज्ञान निकेटन स्कुल काठमाडौँले इनोभेटिभ स्कुल काठमाडौँलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो।

यस्तै जुनियर व्याइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौँले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो। यस्तै गर्ल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो।

प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार हुनेछ। मंगलबारको फाइनल खेल सिनियर व्याइजतर्फ सैनिक र ज्ञान निकेटन, जुनियर व्याइजतर्फ ज्ञान निकेटन र युनिक र गर्ल्सतर्फ तिरुपति र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विजयी टिमहरुलाई भोलि मंगलबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ।

आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डशिप फष्ट र कप्युटिशन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए। स्कुलहरुबीचको सम्बन्धलाई अझ प्रगाढ वनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले बताए। प्रतियोगितामा काठमाडौँ उपत्यकाका २१ वटा स्कुलहरुबाट सहभागी भएको आयोजकले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७९ १२:५१ सोमबार

बास्केटवल प्रतियोगिता