खेल

संकटमोचक होलान् त कासिमिरो ?

गत साता घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्डलाई ४–० को नतिजा सुम्पिएपछि सरुवा बजारमा आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै म्यानचेस्टर युनाइटेडको चर्को आलोचना हुँदै आएको छ।

त्यो हारको एक साता पनि नबित्दै युनाइटेडले स्पेनिस ला लिगा महारथी रियाल मड्रिडको अनुभवी मिडफिल्डर कासिमिरोलाई अनुबन्ध गरेको छ। युनाइटेड कासिमिरोलाई ७० मिलियन डलरमा भित्राउन सहमत भएको हो। त्यसो त, ब्रेन्टफोर्डविरुद्धको हार जारी सिजन युनाइटेडको पहिलो हार थिएन। पहिलो खेलमा पनि युनाइटेड ब्राइटनसँग २–१ ले निराश भएको थियो। लगातार दुई हारपछि युनाइटेड अंकतालिकाको पुछारमा छ।  

इङ्लिस प्रिमियर लिगको पछिल्लो ३० वर्षमा युनाइटेड अहिले सबैभन्दा खराब लयबाट गुज्रिरहेको छ। रियालबाट कासिमिरोसँग तीन पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेको अनुभव छ। रियालको सफलतामा प्रमुख पात्रको रूपमा रहेका कासिमिरोको आगमनपछि युनाइटेड स्वभाविक लय समात्ने विश्वासमा छ। कासिमिरोलाई अनुबन्धन गर्नुअघि युनाइटेडले फ्रयान्की डी योङ र एड्रियन राबियोटलाई भित्राउन चाहे पनि सफल हुन सकेन।  

युनाइटेडले कासिमिरो भित्राउने चर्चासमेत चलेको थिएन। तर, युनाइटेडले अप्रत्याशित रूपमा कासिमिरोलाई भित्रायो। कासिमिरोलाई युनाइटेडले चार वर्षका लागि अनुबन्ध गरेको छ, जसमा थप एक वर्ष बढाउन मिल्ने प्रावधान राखिएको छ।

उनको आगमनले युनाइटेडको संकट टर्ला त भन्ने प्रश्न उब्जिएका छन्। हारको शृंखला पनि रोकिएला त ? प्रश्न धेरै छन्। त्यसको जबाफ कासिमिरोको प्रदर्शनले दिनेछ। कासिमिरो सन् २०१३ मा सान पाउलोबाट सान्टियागो बर्नाबेउ भित्रिएका थिए।

‘रियालका मिडफिल्डर कासिमिरोलाई ओल्ड ट्राफोर्ड भित्राउन पाउँदा हामी निकै खुशी छौं,’युनाइटेडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको भिसा प्रक्रिया र उनको स्वास्थ्य प्रशिक्षणपछि हामी औपचारिक रूपमा उनलाई सार्वजनिक गर्नेछौं।’ युनाइटेडका प्रशिक्षक इरिक टेन हागले भने शुक्रबार पत्रकार सम्मेलनमा कासिमिरोसँगको सम्झौताबारे बोल्न अस्विकार गरेका थिए।  

‘मैले कासिमिरोसँग उनको आगामी गन्तव्यको बारेमा सोधेको थिएँ,’रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘उनले नयाँ अवसर र चुनौतीको सामना गर्ने इच्छा व्यक्त गरेका थिए। क्लबले उनको चाहना बुझ्यो।

क्लबले पछिल्लो समय प्राप्त गरेको सफलतामा उनको ठूलो भूमिका छ। त्यसैले क्लबले कासिमिरोको अन्यत्र जाने चाहनाको सम्मान गर्दै उनको यात्रा सहज बनाइदिएको हो। उनीप्रति हामी सधैं आभारी रहनेछौ।’

कासिमिरोको ओल्ड ट्राफोर्ड यात्रा पक्का भएसँगै उनले रियालका पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो र राफेल भरानसँग पुनः सँगै खेल्ने अवसर पाउनेछन्।

यद्यपि, सरुवा प्रक्रिया पूरा नभएका कारण सोमबार लिभरपुलविरुद्ध हुने खेलमा भने कासिमिरो अनुपस्थित रहनेछन्। अगस्ट २७ मा साउथह्याम्पटनविरुद्धको खेलसँगै कासिमिरोले प्रिमियर लिगमा डेब्यु गर्ने सम्भावना छ।

प्रकाशित: ५ भाद्र २०७९ ०१:१३ आइतबार

घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्ड कासिमिरो