खेल

न्युजिल्यान्डलाई शृंखला

डयारिल मिचेल

भ्रमणकारी टोली न्युजिल्यान्डले वेस्ट इन्डिजलाई शुक्रबार ९० रनले पराजित गरेसँगै तीन खेलको ट्वान्टी-२० शृंखला एक खेलअगावै जितेको छ।

पहिलो खेलमा १३ रनको रोमाञ्चक जित निकालेको न्युजिल्यान्डले शुक्रबार घरेलु टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको प्रभावशाली जित निकालेको हो। यससँगै पाहुना टोलीले शृंखलामा २-० को अग्रता पाएको छ। शृंखलाको दोस्रो खेलअन्र्तगत सबिना पार्कमा २ सय १६ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर मात्र १ सय २५ रन जोड्न सक्यो।

जबाफी ब्याटिङ गर्ने क्रममा ११ रन जोड्दा पहिलो विकेट गुमाएको वेस्ट इन्डिजले १९ रन जोड्दा चार विकेट गुमाउन पुगेको थियो। कमजोर थालनी गरेको वेस्ट इन्डिजका ओबेद म्याककोय सर्वाधिक २३ रनमा अविजित रहँदा रोभमन पावेलले २१ रनको पारी खेले। रोमारियो शेफर्डले १८ रन जोड्ने क्रममा क्याच हुँदै पवेलियन फकिँदा शिम्रोन हेटमायर १४ रनमा रन आउट भए। कसिलो बलिङ गर्ने क्रममा न्युजिल्यान्डका मिचेल सान्टनार र माइकल ब्रेसवेलले ३/३ विकेट लिए। टिम साउथी र इश सोधीको नाममा एकएक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले पूरै २० ओभर खेलेर ५ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो। न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ७६ रन बनाए। यस्तै ड्यारेल मिचेल अर्धशतक बनाउन दुई रनले चुके। डेभन कनवेले ४२ रनको पारी खेल्दा मार्टिन गुपटिल २० रनमा आउट भए। वेस्ट इन्डिजका ओबेद म्याकोयले ३ विकेट लिए। रोमारियो शेफर्ड र ओडेन स्मिथले एकएक विकेट लिए। पहिलो खेलमा न्युजिल्यान्ड १३ रनले विजयी भएको थियो। तेस्रो खेल आइतवार हुनेछ। त्यसपछि यी दुई देशबीच तीन खेलको एकदिवसीय शृंखला हुने तालिका छ। 

प्रकाशित: २९ श्रावण २०७९ ०२:५८ आइतबार

न्युजिल्यान्डलाई शृंखला