खेल

काठमाडौँ आइपुगेपछि प्रशिक्षक प्रभाकरले भनेः छोटो समयमै टिममा परिवर्तन देख्नुहुनेछ

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्। शनिबार साँझ काठमाडौँ आइपुगेका प्रशिक्षक प्रभाकरले चुनौती स्वीकार गर्दै नेपाल आएको प्रतिक्रिया दिएका छन्।

सञ्चारकर्मीहरुसँगकाे कुराकानीमा उनले छोटो समयमै नेपाली टिममा परिवर्तन ल्याउने आत्मविश्वास दिलाएका छन्। उनले नेपाली टिममा प्रतिभाको कमी नभएको बताउँदै केही कुरा सुधार मात्रै गर्नुपर्ने जुन कुरा सुधारेर नेतृत्वका लागि आफू नेपाल आएको प्रतिक्रिया दिएका छन्।

‘मेरो लागि यो चुनौती हो। त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने। ‘म सँग धेरै अनुभव छ। मलाई लाग्छ मैले राम्रो नतिजा दिन सक्नेछु। कसरी सबै कुरा सुधार गर्ने युवा खेलाडीसँग कसरी काम गर्ने मलाई थाहा छ। यो सानो कुरा हो सुधार मात्रै आवश्यकता छ तपाईंले दुई देखि तीन महिनामा भिन्नता पाउनुहुनेछ। त्यही सबै कुरा सुधार्नका लागि म यहाँ आएको छु।,’ 

यस्तै उनले नेपाली टिमसँग काम गर्न धेरै नै उत्साहित रहेको बताएका छन् भने पहिलो प्राथमिकता एकदिवसीय मान्यता जोगाउनु रहेको प्रस्ट पारे। नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनलाई मुख्य जिम्मेवारी ब्याटिङ सुधार्नमै दिएको उनले बताएका छन्।

क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

प्रकाशित: २८ श्रावण २०७९ १५:१० शनिबार

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल क्रिकेट संघ (क्यान)