खेल

खेल प्रतिभा खोजी गर्न विद्यालयमा प्रशिक्षण

विद्यालय क्षेत्रबाट खेल प्रतिभा खोजी गर्ने उद्देश्यले काठमाडौँ जिल्ला खेलकुद विकास समितिले विद्यालयमा खेलकुद प्रशिक्षण कार्यक्रम अगाडि बढाएको छ।

सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौँ जिल्ला खेलकुद विकास समितिले बुधबारबाट पद्मकन्या विद्याश्रम माविमा सुरुआत गरेको छ। बुधबार विद्यालयमा एक कार्यक्रमबीच उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको थियो। सो अवसरमा विद्यार्थीसँग तेक्वान्दोका प्रशिक्षकले अन्तरक्रिया पनि गरेका थिए। यहाँ पहिलो चरणमा छात्राहरूलाई तेक्वान्दो प्रशिक्षण सञ्चालन हुनेछन्।

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षक समेत रहेका नोर्बु लामाले उनीहरूलाई प्रशिक्षण दिनेछन्। उक्त प्रशिक्षण कार्यक्रमको बुधबार खेलकुद विकास समिति अध्यक्ष गणेशलाल कक्षपति, बक्सिङका प्रशिक्षक ओम मास्के र विद्यालयकी प्रिन्सिपल रीता तिवारी लगायतले उद्घाटन गरेका थिए। सो अवसरमा दक्षिण एसियाली खेलकुद (साग) मा तीन स्वर्ण तथा एसियाडमा कांस्य पदक विजेता आयषा शाक्यले आफ्नो खेलजीवनबारे उल्लेख गर्दै उक्त विद्यालयका छात्राहरूलाई खेलमा उत्प्रेरणा जगाउने मन्तव्य राखेकी थिइन्।

प्रशिक्षक नोर्बुले तेक्वान्दो खेलको इतिहास, वर्तमान अवस्था र नेपालको सफलताबारे चर्चा गरे। खेलकुद विकास समितिका अध्यक्ष कक्षपतिले आयषा जस्तै बन्ने उद्देश्यले अनुशासित तवरले प्रशिक्षण गरेमा एक दिन सफलता मिल्ने प्रतिक्रिया दिए। उनले प्रशिक्षणमा राम्रो गरेमा पछाडिको सम्भावना बलियो हुने तर्क राखे।

प्रकाशित: २६ श्रावण २०७९ ०६:०३ बिहीबार

जिल्ला खेलकुद विकास समिति नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षक