खेल

स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई बिदाइ

हल्यान्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुने स्वस्तिश्री गुरुकुलको फुटबल टोलीलाई आइतबार बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रममा सहभागी हुने टोलीलाई बिदाइ गरिएको हो। टोलीलाई राखेप उपाध्यक्ष शिव कोइराला, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा लगायतले बिदाइ गरे। बिदाइ कार्यक्रमपछि उपाध्यक्ष ज्वालाले खेलकुदको उद्गमथलो स्कुल नै भएको भन्दै खेलाडीलाई राम्रो प्रदर्शन गर्न शुभकामना दिए। यस्तै एन्फा उपाध्यक्ष लामाले हल्यान्ड जाने टोली स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकोले शीर्ष ज्ञान प्राप्त गर्न शुभकामना दिए।

प्रशिक्षण कार्यक्रम श्रावण २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ। खेलाडीहरू आफ्नो खर्चमा त्यसतर्फ प्रस्थान गर्न लागेको र व्यक्तिगत सम्बन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको नेपाली फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले जानकारी दिए। टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीमा प्रशिक्षकमा ज्वाला विष्ट र खेलाडीहरूमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, शाश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देनदोर्जे शेर्पा, ज्युड सापकोटा, भाइचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहानमान जोशी रहेका छन्। 

प्रकाशित: २३ श्रावण २०७९ ०१:३१ सोमबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वस्तिश्री गुरुकुलको फुटबल टोली