खेल

कसले बोक्ला नेपालको झण्डा

काठमाडौं- छिमेकी भारतको गुवाहटीमा माघ २२ मा दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करण सुरु हुँदा उद्घाटन समारोहमा नेपालको झण्डा कसले बोक्ने टुंगो लागिसकेको छैन। तर, विगतको उपलब्धि मूल्यांकन गर्दा तेक्वान्दोकी आयशा शाक्य र उसुका राजकुमार रसाइली उद्घाटन समारोहमा झण्डा बोक्ने मुख्य दाबेदार हुन्।

झन्डै चार सय खेलाडी लिएर दक्षिण एसियाली खेलकुदको कुम्भ खेलमेलाका लागि भारत जाने तयारीमा रहेको नेपाली टोलीमा आयशा र राजकुमारमात्र यस्ता खेलाडी हुन्, जसले विगतमा यो प्रतियोगिताको स्वर्ण पदक चुमेका छन्।

अझ बंगलादेशमा सन् २०११ मा भएको ११ औं सागमा स्वर्ण जित्नेमध्ये त यसपालि नेपाली टोलीमा निरन्तर हुने आयशा एकमात्र खेलाडी हुन्। राजकुमारले २००६ मा श्रीलंकामा भएको १० औं सागमा स्वर्ण पदक जितेका थिए। बंगलादेशमा राजकुमारको तौल ५२ केजीमा प्रतिस्पर्धा नभएकाले उनी सहभागिताबाट वञ्चित भएका थिए। ५६ केजीसम्म चुनौती प्रस्तुत गर्न सक्ने क्षमता राजकुमारमा थियो। तर,त्यो तौल पनि बंगलादेशमा समावेश थिएन।यसपालि भारतले राजकुमारको तौल समावेश गरेकाले उनी दोस्रो व्यक्तिगत स्वर्णको चुनौती प्रस्तुत गर्न आतुर छन्।

ठूला अन्तर्राष्ट्रिय खेल महोत्सवको उदघाट्न समारोहमा विगतका उपलब्धिका आधारमा झण्डा बोक्ने उम्मेदवार छान्ने चलन छ। अन्तर्राष्ट्रिय सहभागिताको सबै चाजोपाँजो मिलाउने नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले विगतमा जितेका पदकका आधारमा झण्डा बोक्ने खेलाडी छान्ने बताए। 'सबै खेलाडीको नाम आइसकेपछि विगतको प्रदर्शन मूल्यांकन गरेर उपलब्धिका आधारमा सफल खेलाडीलाई झण्डा बोक्ने सम्मान दिइनेछ,' श्रेष्ठले नागरिकसँग भने।

एनओसीको मापदण्डअनुसार नेपालको झण्डा बोक्नेमा आयशाको सम्भावना बढी छ। पछिल्लो स्वर्णसँगै उनले एसियाली खेलकुदमा पनि कांस्य पदक जितिसकेकाले एनओसीले आयशालाई नै उदघाट्नमा झण्डा बोकाउन सक्छ। झण्डा जसले बोके पनि अहिले आयशा र राजकुमारका लागि विगतको उपलब्धिलाई निरन्तरता दिनुपर्ने चुनौती छ। अनुभव र क्षमताका आधारमा सबैले आयशा र राजकुमारबाट यसपालि पनि स्वर्ण पदक आशा गरेका छन्। जसले खेलाडीलाई प्रतियोगिताअघि दबाबमा पारेको छ। सँगै धेरै मानिसले गरेको विश्वासका कारण उनीहरूमा ऊर्जा पनि थपिएको छ।

'प्रतियोगिता नजिकिँदै जाँदा हामीमा दबाब र उत्साह दुवै बराबर छ। सबैले अपेक्षा गरेकाले दबाब हुँदोरहेछ। सँगै अर्को स्वर्ण पदक थप्ने उत्साह पनि छ,' आयशा भन्छिन्, 'मेरो विचारमा खेलाडीलाई यस्तो बेला दबाब र उत्साह दुवै चाहिन्छ। दबाबलाई सकारात्मक रूपमा लिने हो भने त्यसले मानिसलाई ऊर्जा थप्ने काम गर्छ।'

अघिल्लो संस्करणमा स्वर्ण पदक जितेकी आयशाले पहिलोपल्ट २००६ मा साग खेल्दा रजत पदक जितेकी थिइन। त्यही वर्ष कतारमा सम्पन्न दोहा एसियाली खेलकुदमा कांस्य पदक जितेकी आयशाले २००७ मा दक्षिण कोरियामा भएको छुन्छन ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्। यसैगरी त्यही वर्ष कोरियामै सम्पन्न पहिलो विश्व तेक्वान्दो कल्चर एक्स्पोमा कांस्य जितेकी उनले २०१० को पाँचौं कोरिया ओपन तेक्वान्दोमा रजत हात पारेकी थिइन्। नेपालमै २०११ र २०१४ मा भएको माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पहिलो दुई संस्करणमा पनि आयशाले स्वर्ण पदक जितेकी थिइन्। दशकभन्दा लामो अन्तर्राष्ट्रिय खेल करिअरका उपलब्धिमा एक महिनापछि सागको अर्को स्वर्ण थपिनेमा उनी विश्वस्त छिन्। भन्छिन्, 'विगतको अनुभव र अहिलेको तयारीले स्वर्ण जित्नेमा म विश्वस्त छु।'

अनुभव र क्षमता प्रचुर भए पनि आयशाले यसपालि विगतभन्दा फरक तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्। यसअघि सधै ५३ केजीमुनिको वेन्टमवेटमा खेल्दै आएकी उनले गुवाहटीमा ६२ केजीमुनिमा प्रतिस्पर्धा गर्नुपर्नेछ। स्वर्ण जित्ने लक्ष्यमा तौल समूहअनुसार उचाइ उनका लागि बाधक बन्न सक्ने यथार्थ पनि छ। तर, लामो समयदेखि उनलाई प्रशिक्षण गराइरहेकी सागकी दोहोरो स्वर्ण पदकधारी संगीना वैद्य आयशाले सबै बाधा पन्छाउनेमा आशावादी छिन्।

'यसपालि तौल समूह बढ्दा उचाइका कारण समस्या हुन सक्छ। तर, आयशाले सागमा स्वर्णकै लागि खेल्ने हो। तेक्वान्दोमा खेलाडी चलाख हुन सक्नुपर्छ। अवस्थाअनुसार मुभमेन्ट परिवर्तन गर्न सक्नुपर्छ। आयशामा ती सब गुण छ। ऊ खेल पल्टाउन सक्ने खेलाडी हो,' संगीनाले भनिन्,'अनुभव, क्षमता र चलाखपनका कारण आयशाबाट हामीले स्वर्ण पदक आश गरेका छौं।'

राजकुमारको कथा आयशाभन्दा ठीक उल्टो छ। १० वर्षपछि दक्षिण एसियाली खेलकुदमा फर्कने तयारी गरिरहँदा पनि उनको तौल समूह फरक भएको छैन। विगतको आफ्नै सफलतालाई निरन्तरता दिनुपर्ने दबाबमा रहेका राजकुमार श्रीलंकामा जस्तै यसपालि पनि सजिलै स्वर्ण जित्नेमा विश्वस्त छन्। 'मैले पछिल्लो समय निकै मिहिनेत गरेको छु। १० वर्षसम्म पनि एउटै तौल समूह कायम हुनु मेरो मिहिनेतको प्रमाण हो। त्यसैले मैले यसपालि पनि स्वर्ण पदक जित्ने आश गरेको छु,' राष्ट्रिय खेलकुद परिषदका जागिरे सहायक प्रशिक्षक राजकुमारले भने, 'मेरो दरबन्दी अहिले भक्तपुरमा छ। त्यहाँ म नियमित प्रशिक्षण गराउँछु। अरुलाई प्रशिक्षण गराउँदा आफू पनि सधैँ गरिरहेको हुन्छु।'

राष्ट्रिय टोलीमा नरहेकाले उनी सागको संगठित तयारीमा समावेश हुन पाएको डेढ महिनामात्र भयो। मंसिरको पहिलो साता सागको छनोटमा सफल भएपछिमात्र राजकुमारराष्ट्रिय टोलीको अभ्यासमा सामेल हुन पाए। तथापि आफ्नै प्रयासमा वर्षौंदेखि व्यक्तिगत अभ्यास गरिरहेकाले उनको आत्मविश्वास घटेको छैन। 'पुरानो अनुभवसँगै नियमित अभ्यास गरेका कारण मलाई यसपालि झन आशा लागेको छ,' उनले भने।

राजकुमारले पछिल्लोपटक अन्तर्राष्ट्रिय खेलका लागि प्रतिस्पर्धामा उत्रिएको २०१० मा भएको ग्वान्झाउ एसियाली खेलकुद हो। त्यसयता दुई वर्षअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७ औं एसियाली खेलकुदमा नयाँ खेलाडीलाई मौका दिने संघ र प्रशिक्षकको नीतिअनुसार आफूले सहभागिता नजनाएको उनी बताउँछन्। सान्सौंका प्रशिक्षक गणेश अर्याल पनि राजकुमार नेपालले स्वर्ण पदक आश गरेका खेलाडीमध्येमा एक भएको बताउँछन्। 'राजकुमार अनुभवी खेलाडी हो। सँगै ऊ अत्यन्तै मिहिनेती पनि छ। प्राविधिक रूपमा पनि राम्रो भएकाले हामीले राजकुमारबाट स्वर्ण पदक आश गरेका छौं। विगतमा पनि उसले स्वर्ण पदक जितेर आफूलाई प्रमाणित गरिसकेको छ,' अर्यालले नागरिकसँग भने।

प्रतियोगिता थोरै समय बाँकी रहँदा राजकुमारलाई पाखुराको चोटले भनेसताइरहेको छ। टोली पोखरामा बन्द प्रशिक्षण सिविरमा रहँदा समेत केही दिन राजकुमार दैनिक फिजियोथेरापी गराउन काठमाडौंमै थिए। 'अब धेरै फिट भइसकेँ। दुई साता अझै पूरै बाँकी छ। स्वर्ण पदक जित्ने मेरो लक्ष्य कतै पनि डग्मगाएको छैन,' उनले भने।

प्रकाशित: ८ माघ २०७२ २१:२४ शुक्रबार