खेल

उनीहरूले पोडियम सेयर गर्दै एउटै गीत गाए

भारत-पाकिकस्तानका खेलाडीबीच मित्रता

राजनीतिका कारण विभाजित पाकिस्तान-भारतका भारोत्तोलनका खेलाडीले कमनवेल्थ गेम्समा एउटै पोडियम सेयर गर्दै चर्चित र्‍यापरको गीत सँगै गाएका छन्।

बर्मिङघममा एक सय ९ केजीमाथि तौलसमूहमा पाकिस्तानी खेलाडी नोह दास्तगिर बटले स्वर्ण जित्दा भारतीय खेलाडी गुरदीप सिंह तेस्रो स्थानमा खुम्चिएका थिए। राजनीतिक रूपमा यी छिमेकीबीच तिक्ततापूर्ण सम्बन्ध छ। यद्यपि, बट र सिंहले पुरस्कार समारोहमा एउटै पोडियमको एकै वरीयतामा बस्दै विजयोत्सव मनाए र त्यस क्रममा संगीत गुनगुनाए।

खेल क्षेत्रमा पनि यी दुईबीच सदैव तनावपूर्ण सम्बन्ध रहने गर्दछ। दुवै देशले धेरै खेल खेल्ने भए पनि क्रिकेटमा मात्र एक अर्काबीच खेल्छन्। दुवै देशमा क्रिकेट चर्चित छ। तर, यी दुई देशबीच शृंखला नभएको पनि वर्षौं भइसकेको छ। बट र सिंह दुवै पन्जाबका हुन्, जुन राज्य ७५ वर्ष अगाडि दुई देशमा विभाजित हुँदा छुट्टिएको थियो।

पन्जाबको भाषा र संस्कृति पनि एकै किसिमको छ। बट र सिंहले केही महिनाअगाडि मात्र हत्या गरिएका पन्जाबी र्‍यापर सिधु मोसे वालाको गीत सँगै गाएका थिए। बट र सिंहबीच पहिलो पटक ६ वर्षअगाडि जुनियर विश्व च्याम्पियनसिपमा भेट भएको थियो। ‘हामी एकअर्कालाई डाइटका योजनाबारे सल्लाह दिन्छौं। पन्जाबीमा कुराकानी गर्ने भएकाले हाम्रो मित्रता थप मजबुत भएको हो,’ २६ वर्षे सिंहले बर्मिङ्घममा भनेका थिए। २४ वर्षे बटले भने आफूहरू राम्रो साथी रहेको उल्लेख गरे। ‘मैले स्वर्ण जितेपछि सबैभन्दा पहिलो गुरदीपले नै मलाई बधाई दिएका थिए। त्यसपछि हामीले सँगै उत्सव मनायौं र मोसे वालाको गीतमा नाच्यौं पनि,’ बटले भने।

मोसावालाको वास्तविक नाम भने सुभदीप सिंह सिद्दु हो। गत मेमा सिंह सवार कारमा बन्दुक प्रहार गर्दै उनको हत्या गरिएको थियो। २८ वर्षे सिंह बोर्डर क्षेत्रनजिक दुवै देशमा चर्चित थिए। विशेषतः उनी पन्जावी समुदायका लागि निकै प्यारा र्‍यापर हुन्। त्यसैले उनको हत्या हुँदा भारत र पाकिस्तानमा मात्र नभई क्यानडा र बेलायतमा पनि विरोधका आवाज उठेको थियो।

यता, बटको परिवार नै भारोत्तोलनमा छ। उनका अनुसार बोर्डर क्षेत्रमा दुवै देशले उनलाई समर्थन गर्छन्। ‘पाकिस्तानका भन्दा मेरा धेरै समर्थक भारतमा छन्,’ बटले भने, ‘विशेष किसिमको माया मैले भारतबाट पाएको छु। जुन, मलाई अन्य कुनै देशले दिएको छैन।’ बटका पिता गुलाम दस्तगिर बट पाकिस्तानका १६ पटक राष्ट्रिय च्याम्पियन हुन्।

‘जब मानिसहरूले भारत र पाकिस्तान दुस्मन हुन् भन्दा अचम्म लाग्छ। किनकि मैले दुवै देशमा अथाह माया र समर्थन पाइरहेको छु। हामी पनि भारतीय खेलाडी र हिन्दुस्तानलाई उत्तिकै माया गर्छौं,’ बटले भनेका छन्।

प्रकाशित: २१ श्रावण २०७९ ०२:४२ शनिबार

पन्जाबको भाषा र संस्कृति पनि एकै किसिम राजनीतिका कारण विभाजित पाकिस्तान–भारतका भारोत्तोलनका खेलाडी