खेल

प्रशिक्षकले चुने ३५ खेलाडी

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा रहेका खेलाडीमध्ये मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्।

नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि मंगलबार ५८ खेलाडीबाट ३५ खेलाडीको टोली बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा जारी प्रशिक्षणबाट प्रशिक्षक थापाले २३ खेलाडीलाई हटाएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा नेपालले उद्घाटन खेल भुटानसँग खेल्ने तालिका छ। भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ। नेपालसँगै समूह ‘बी’ मा भुटान र श्रीलंका छन्। यस्तै समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्।

नेपालले आफ्नो दोस्रो तथा समूहचरणको अन्तिम खेल भदौ २८ गते श्रीलंकासँग खेल्नेछ। समूहचरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको पाँचौं संस्करण सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो।

उक्त संस्करणमा फाइनल यात्रा तय गरेको नेपालले भारतलाई नतिजा सुम्पिँदा नेपाल उपविजेतामा खुम्चिनुपरेको थियो। नेपाल पाँचमध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै आएको छ। भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ। उता बंगलादेश चौथो संस्करणको उपविजेता हो।

महिला टोली

गोलकिपर: एन्जिला सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक।

डिफेन्डर: अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हीराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा थोकर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, गंगा गुरुङ।

मिडफिल्डर: सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, मञ्जलीकुमारी योञ्जन, दीपा शाही, हिमा चौधरी, सविता रानामगर, इन्दिरा राई, सरस्वती ऐर, कुुसुुम खतिवडा।

फरवार्ड: सावित्रा भण्डारी, अनिता केसी, रजनी थोकर, निर्मला विक, रश्मिकुमारी घिसिङ, चन्द्र भण्डारी, अमीषा कार्की, रेखा पौडेल। 

प्रकाशित: १८ श्रावण २०७९ ०१:०५ बुधबार

साफ महिला च्याम्पियनसिप मुख्य प्रशिक्षक कुमार थापा