खेल

भारतसँग नेपालको लज्जास्पद हार

साबिक विजेता भारतसँग ८–० को लज्जास्पद हार बेहोरेसँगै नेपालको साफ च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश लक्ष्य कठिन बनेको छ।

पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–० ले निराश पारेको थियो। फाइनल प्रवेशका लागि जित्नै पर्ने खेलमा नेपाल निराश बन्यो। खेलको सुरुआतबाट घरेलु टोलीको दबाब खेपेको नेपालका रक्षक भारतीय स्ट्राइकरको बल क्लियर गर्नेमै व्यस्त देखिएका थिए।

३२औं मिनेटमा नेपालका गोलकिपर ईश्वर गुरुङको गम्भीर गल्तीको फाइदा उठाउँदै भारतले अग्रता लियो। विपक्षी खेलाडीले गरेको क्रस सहज रूपमा नियन्त्रणमा लिने अवसर भए पनि ईश्वरले बल नियन्त्रणमा लिन सकेनन्। त्यसको फाइदा उठाउँदै भारतका टाइसनसिंह लोतोङबामले हेडरमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा झनै दबाबमा पर्‍यो। ५१औं मिनेटमा नेपाली रक्षकले बल क्लियर गर्न नसक्दा पार्थिवसुन्दर गोगोईले गोल गर्दै भारतको अग्रता दोब्बर पारेका थिए। त्यसको एक मिनेटपछि गोगोईले नै गोल थप्दै भारतललाई सहज जिततर्फ डोयर्‍याएका थिए।

६४औं मिनेटमा पाथुम घिमानाले भारतको अग्रता ४–० मा पुर्‍याउँदा ७१औं मिनेटमा हिमांशु जांगराले पेनाल्टीको सदुपयोग गर्दै पाँचौं गोल गरी भारतलाई फराकिलो जिततर्फ डोर्‍याएका थिए। नेपालका आयुष श्रेष्ठले भारतका पार्थिवसुन्दर गोगोईलाई लडाएपछि भारतले पेनाल्टीको अवसर पाएको थियो। ७८औं मिनेटमा मोहम्मेद रिजाकले भारतका लागि छैटौं गोल गरे। निर्धारित समय सकिनुअघि मोहम्मद सुहाइबले भारतका लागि सातौं गोल गर्दा अन्तर झनै फराकिलो भयो। नेपालले गोल खाने क्रम अझै रोकिएन। इन्जुरी समयको दोस्रो मिनेटमा सुभो पलले भारतका लागि आठौं गोल गरे।

बंगलादेश तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै एक खेलअगावै फाइनल प्रवेश गरिसकेको छ। शीर्ष स्थानको बंगलादेशको नौ अंक छ भने दोस्रो स्थानको भारतको र तेस्रो स्थानको नेपालको समान ६ अंक छ। चौथो स्थानको माल्दिभ्स र पाँचौं स्थानको श्रीलंकाको समान एक अंक छ। श्रीलंका र माल्दिभ्स प्रतियोगितााट बाहिरिसकेका छन्।

शीर्ष दुईमा बस्दै फाइनल प्रवेशको दौडमा साबिक विजेता भारत र नेपाल रहेका छन्। तर भारतसँगको हारले नेपालको शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने लक्ष्य कठिन बनेको छ। फाइनल प्रवेशका लागि नेपालले समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानको बंगलादेशमाथि राम्रो गोलअन्तरमा जित निकाले पनि भारतसँगको हारले त्यो पर्याप्त हुने सम्भावना छैन भने हुन्छ। साथै भारतले तुलनात्मक रूपमा कमजोर मानिएको माल्दिभ्सलाई फराकिलो अन्तरमा नतिजा सुम्पिएको कामना गर्नुपर्नेछ।

यता पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा भने श्रीलंकालाई ४–० ले हराएको थियो। आइतबार सम्पन्न पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए।   

प्रकाशित: १६ श्रावण २०७९ ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App