खेल

स्वारेज पूर्वक्लबमा फर्किए

उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले आफ्नो पूर्वक्लब नासियोनलसँग सम्झौता गरेका छन्। बार्सिलोना तथा लिभरपुलका पूर्वस्टार लुइस स्वारेजले पूर्वक्लब नासियोनलसँग केही समयका लागि सम्झौता गरेका हुन्।

स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लबविहीन रहेका थिए। नोभेम्बरमा हुने कतार विश्वकप २०२२ अघि नै उनी नयाँ क्लबसँग सम्झौता गर्न चाहन्थे। स्वारेजको अनुबन्धनमा रिभर प्लेट र बोरुसिया डर्टमन्डले पनि इच्छा देखाउँदै आएका थिए। तर स्वारेजले धेरैभन्दा धेरै खेल्ने अवसर पाउने सुनिश्चित भएपछि मात्र नासिनियोलसँग सम्झौता गरेको बताइएको छ।

नासिनियोलका समर्थकले समेत स्वारेजलाई क्लबमा ल्याउन सामाजिक सन्जालमा अभियान नै सञ्चालन गरेका थिए। गत साता के रिट्टोविरुद्धको खेलमा नासिनियोलका करिब १५ हजार दर्शकले स्वारेजको तस्बिर अंकित फेस मास्कको प्रयोग गरेका थिए। मंगलबारमा मात्र स्वारेजले समर्थकले देखाएको समर्थनप्रति आभारी रहेको प्रतिक्रिया दिएका थिए।

‘मेरो फुटबल करियरमा मलाई साथ दिएकोमा समर्थक र परिवारप्रति निकै आभारी छु,’ स्ट्राइकर स्वारेजले भनेका थिए, ‘फुटबल करियर सुरुआत गरेको क्लबमा फर्किने निर्णयमा पुगेको छु। पूर्वक्लबको प्रस्ताव मैले अस्वीकार गर्न सकिनँ। हामीबीच अबको केही दिनमा नै औपचारिक सम्झौता हुनेछ।’

उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए। त्यहाँ लगाातर दुई सिजन उरुग्वेको शीर्ष लिग उपाधि जितेपछि स्वारेज नेरदरल्यान्ड्सको जोर्निन्जेनमा अनुबन्धित भएका थिए। त्यसको एक वर्षपछि मात्र उनी अयाक्स पुगेका थिए। अयाक्सबाट लिभर पुल गएका स्वारेज त्यहाँ साढे तीन वर्ष बिताउँदै बार्सिलोना पुगेका थिए।

सन् २०२१ मा बार्सिलोना जानुअघि उनले क्याम्प नोउमा चार पटक स्पेनिस ला लिगाको उपाधि जिते भने सन् २०१५ को च्याम्पियन्स लिग जितेका थिए। उनले सन् २०२१ मा एट्लेटिकोबाट पनि ला लिगाको उपाधि जितेका थिए। उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेलमा ३२ गोल गरेका थिए।

प्रकाशित: १३ श्रावण २०७९ ०२:३४ शुक्रबार

स्वारेज पूर्वक्लबमा फर्किए नासिनियोलका समर्थक