खेल

पाकिस्तान खराब स्थितिमा

रमेश मेन्डिस नेतृत्वमा रहेको श्रीलंकाको स्पिन आक्रमणले दोस्रो टेस्टमा ३ सय ७८ रन पछ्याएको पाकिस्तानलाई दोस्रो दिन बुधबार १९१/७ को खराब स्थितिमा पुर्‍याएको छ।

पाहुना टोली पाकिस्तान दुई खेलको टेस्ट शृंखलामा १–० ले अगाडि छ। तर, दोस्रो टेस्टमा खराब ब्याटिङका कारण पाकिस्तान दोस्रो दिनको खेल सकिँदा १ सय ८७ रनले पछाडि छ। श्रीलंकाको बलिङ अट्याकलाई रोक्ने प्रयास गरेका अघा सलमानले टेस्टमा पहिलो अर्धशतक बनाए। तर, उनी पनि श्रीलंकाका लेफ्ट आर्म स्पिनर प्रभात जयसूर्याको बलमा आउट हुन पुगे। सलमान ६२ रनमा आउट भएपछि दोस्रो दिनको खेल अन्त्य भएको घोषणा भयो। जयसूर्याको बलमा उनी स्लिपमा क्याच भए। सलमानले अघिल्लो खेलमा मात्र डेब्यु गरेका थिए।

उनले पाकिस्तानलाई १४५/७ को खराब स्थितिबाट उकासे। सातौं विकेटका लागि सलमानले यासिर साहसँग ४६ रनको साझेदारी गरेका थिए। यासिर १३ रनमा नटआउट छन्। रमेशले आफ्नो स्पिन जादुबाट पाकिस्तानको मिडल अर्डर ध्वस्त बनाए। तेस्रो दिनको खेलमा पनि उनको स्पिन थप टर्न हुने आशा गरिएको छ। पहिलो विकेट गुमेपछि पाकिस्तान समालिनै सकेन। पाकिस्तानका लागि पहिलो टेस्टका नायक अब्दुलाह साफिक शून्यमा नै पवेलियन फर्किए। लन्च ब्रेकसम्म कप्तान बाबर आजम १६ रनमा आउट भएपछि पाकिस्तान थप दबाबमा पर्‍यो।  

जयसूर्याले पहिलो दुई टेस्टमा नै २१ विकेट पूरा गरिसकेका छन्। पाकिस्तानका उत्कृष्ट ब्याट्सम्यान आजमलाई पवेलियन फर्काउँदै जयुसूर्याले खेलमा थप प्रभाव जमाए। इमाम उल हकले पनि मोहम्मद रिजवानसँग मिलेर इनिङ अगाडि बढाउने प्रयास गरे। तर, धनञ्जय डी सिल्भाले इमामलाई ३२ रनमा पवेलियन फर्काउँदै साझेदारी जम्न दिएनन्। नियमित कप्तान दिमुथ करुनारत्ने ढाडमा समस्याका कारण मैदानमा नहुँदा डी सिल्भालाई कार्यवाहक कप्तानको जिम्मेवारी दिइएको थियो।

रिजवानले केही बाउन्ड्री प्रहार गर्दै आक्रमण गर्ने प्रयास गरेता पनि रमेशलाई उनलाई २४ रनमा एलबिडब्लु सिकार बनाए। रिजवानले रिभ्यु लिए पनि सफलता पाउन सकेनन्। अघिल्लो खेलमा २ सय ६० रन बनाएका ओपनर साफिकलाई छिट्टै गुमाएपछि पाकिस्तान समालिन नै सकेन। असिथा फर्नान्डोको बलिङ साफिकको ब्याटमा एज लागेर बोल्ड हुँदा उनी खाता नखोल्दै आउट भए। अलराउन्डर सलमानले इनिङ सम्माले। उनी ६ ओभर बलिङमा भने विकेटविहीन भएका थिए।

सलमानले घरेलु टोलीका स्पिनरलाई फ्रन्ट फुटमा सहजै खेलेका थिए। श्रीलंकाले ३१५/६ को स्थितिबाट दोस्रो दिनको खेल सुरु गरेको थियो। एन्जेलो म्याथ्युजको सयौं टेस्ट खेलमा ओभर नाइट ब्याट्सम्यान निरोसन डिकवेलाले ५१ रन बनाए। नवौं नम्बरका ब्याट्सम्यान रमेशले पनि ३५ रन बनाउँदै घरेलु टोलीको इनिङ उकासेका थिए। पाकिस्तानका तीव्र गतिका बलर नसिम साह र लेग स्पिनर यासिरले समान तीन विकेट लिए।

प्रकाशित: १० श्रावण २०७९ ०१:३१ मंगलबार

रमेश मेन्डिस श्रीलंका