खेल

राफिन्हाको गोलमा बार्सिलोनालाई सफलता

रियालविरुद्ध गोल गरेपछि बार्सिलोनाका राफिन्हा(दायाँ)।

लगातार दुई खेलमा दुई गोल गरेका राफिन्हाले शनिबार पनि गोल गरेपछि शनिबार बार्सिलोनाले रियाल मड्रिडमाथि १-० को रोमाञ्चक जित निकालेको छ।

प्रि–सिजनअन्तर्गत अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले रियाललाई हराउँदा यसै सिजन टोलीमा अनुबन्धित भएका राफिन्हाको खेल उत्कृष्ट रह्यो। यसअघि पनि राफिन्हाले इन्टर मिलानसँगको खेलमा पनि गोल गरेका थिए। उक्त खेल राफिन्हाको बार्सिलोनाका लागि डेब्यु खेल थियो।

इङ्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेडबाट ६० मिलियन अमेरिकी डलरमा अनुबन्धित भएका उनले दोस्रो खेलमा पनि गोल गर्दा बार्सिलोना रियालमाथि जित निकाल्न सफल भएको हो। निकै रोमाञ्चक बनेको खेलमा राफिन्हाले २७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

अमेरिकाको लास भेगासमा भएको एल क्लासिकोमा बार्सिलोनबाट लियोनल मेसी समावेश थिएनन्।तर रियालविरुद्ध मेसी नभए पनि भएजस्तै माहोल भएको थियो। मेसीले लगाउने १० नम्बर जर्सीसहित दर्शकदीर्घामा समर्थकको बाक्लो उपस्थिति थियो।

गत वर्ष बार्सिलोनाले मेसीलाई फुकुवा गरे पनि उनी फर्कनेमा क्लब आशावादी रहँदै आएको छ।समर्थकले पनि सोही अपेक्षा राख्ने गरेका छन्। उनको खेलजीवनको अन्त्य आफ्नै क्लबबाट होस् भन्ने बार्सिलोनाले चाहेको विश्वास गरिन्छ।

प्रि सिजनअन्तर्गतको खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। रियालको डिफेन्सले दिएको खराब पासलाई नियन्त्रण गर्दै राफिन्हाले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरेका थिए। मैत्रीपूर्ण खेल भए पनि बार्सिलोनाले आफ्नो बलियो टोली मैदान उतारेको थियो। उता रियालले भने भरपर्दा खेलाडी करिम बेन्जेमालाई विश्राम दिएको थियो। बार्सिलोनाले यसै ट्रान्सफर विन्डोमा क्लब आएका फरवार्डद्वय रोबर्ट लेवान्डोवस्की र राफिन्हालाई पहिलो रोजाइमा समावेश गरेको थियो।लेवान्डोस्कीको बार्सिलोनाबाट यो डेब्यु खेल पनि थियो।

बार्सिलोनाले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो। रियलले भने गोलरक्षक कोर्टुवाबाहेक अन्य १० खेलाडी परिवर्तन गरेको थियो। बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आगामी खेल युभेन्ट्ससँग खेल्दै छ भने रियालले अमेरिकन क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रकाशित: ९ श्रावण २०७९ ०२:५८ सोमबार

इङ्लिस प्रिमियर लिग क्लब लिड्स युनाइटेड दर्शकदीर्घामा समर्थकको बाक्लो उपस्थिति