खेल

सुखद सुरुआत गर्ने चाहना

साफ यु-२०च्याम्पियनसिप

पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक मेघराज केसी (बायाँ) र कप्तान आयुष घलान।

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो भएकाले आफूहरू साफ यु-२० च्याम्पियनसिपको उपाधि दाबेदार टोली रहेको बताएका छन्। भारतको भुवनेश्वरस्थित कलिंग स्टेडियममा हुने आफ्नो पहिलो खेलमा नेपालले सोमबार माल्दिभ्सको सामना गर्दैै छ।

‘हामी विगत दुई महिनादेखि निरन्तर प्रशिक्षणमा छौं,’ केसीले भने, ‘त्यसैले सुखद नतिजा आउनेमा आशावादी छु। हामी यहाँ उपाधि जित्नैका लागि आएका हौं। तर हामी सहभागी सबै टोलीलाई सम्मान गर्न चाहन्छु। पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्दै छौं। उनीहरू पनि कठिन प्रतिद्वन्द्वी हुन सक्छन्। यद्यपि हामी तीन अंकका साथ प्रतियोगितामा सुखद थालनी गर्न चाहन्छौं।

केसीले कोभिड १९ महामारीका कारण सहभागी अन्य राष्ट्रमा पनि उमेरसमूहको प्रतियोगिता नभएकाले टोलीको स्तर समान भएको बताए। ‘नेपालमा मात्र नभई दक्षिण एसियामै उमेरसमूहका खासै प्रतियोगिता भएका छैनन्,’ केसीले भने, ‘अन्य टोलीमा पनि थुप्रै परिवर्तन भएका कारण प्रतिद्वन्द्वीका विषयमा खासै जानकारी छैन। तर हामी यहाँ जित्न आएका हौं। जित्नेमा आशावादी पनि छौं।’

त्यस्तै नेपालका कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेकाले सुखद नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए।

‘पहिलो खेल हो, त्यसैले स्पष्ट तीन अंकसहित सुखद सुरुआत गर्न चाहन्छौं,’ आयुषले भने। यता माल्दिभ्सका प्रशिक्षक अहमद साकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेका कारण खेल्न कठिन हुने बताए। टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेल्ने भएकाले धेरै समय भने एकसाथ प्रशिक्षण गर्न नपाएको उनको भनाइ छ।

‘मेरो विचारमा घरेलु टोली यस प्रतियोगिताको उपाधि दाबेदार हो,’ साकिरले भने, ‘उनीहरू विगत दुई-तीन वर्षदेखि एक साथ प्रशिक्षण गरिहेका छन्। हाम्रो टोलीमा पनि राष्ट्रिय टोलीको प्रारम्भिक चरणसम्म पुगेका तीन खेलाडी छन्। आशा छ, हामीले नेपालमाथि जितसहित प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्नेछौं।’

यसअघि यु-१८ र यु १९ साफ च्याम्पियनसिप आयोजना गरिँदै आएको थियो। यस संस्करणबाट भने यु-२० साफ च्याम्पियनसिप आयोजना गरिएको हो।

प्रतियोगितामा नेपालले दोस्रोे खेल जुलाई २७ मा श्रीलंका, तेस्रो खेल जुलाई ३१ मा भारतसँग र चौथो खेल अगस्ट २ बंगलादेशसँग खेल्नेछ। राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल अगस्ट २ मा हुनेछ।

प्रकाशित: ९ श्रावण २०७९ ००:५३ सोमबार

सुखद सुरुआत गर्ने चाहना साफ यु–२०च्याम्पियनसिप