खेल

राष्ट्रिय उमा कुङ्फु भदौमा

नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ।

आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्। प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्नेछ। सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछन्।

 सान्डाको पुरुषमा १० र महिलामा आठ गरी १८ स्पर्धा समावेश छन्। प्याटर्नको पुरुष/महिलामा ४/४ गरी आठ स्पर्धामा खेल हुनेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ। बैठकले प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति र दुई उपसमिति पनि गठन गर्ने निर्णय पनि गरेको छ।

९ सदस्यीय मूल आयोजक समितिमा संघका सचिव रमेश महर्जनलाई संयोजक र संघका पूर्वअध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक उद्धव थापामगरलाई सह–संयोजकको जिम्मेवारी दिइएको छ। आर्थिक उपसमितिको संयोजकमा राजदीश नेम्कुल, सहसंयोजकमा अशोक केसी र सदस्यमा जीवन गुरुङ छन्।

प्रचारप्रसार तथा प्राविधिक उपसमितिमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई संयोजक तथा गोपाल थापा, कमल मगर, सिद्धार्थ लामा र भूपेन्द्र गुरुङलाई सदस्य तोकिएको छ। बैठकले संघको चुनावी साधारण सभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी गराए।

प्रकाशित: ८ श्रावण २०७९ ००:४४ आइतबार

राष्ट्रिय उमा कुङ्फु भदौमा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा