खेल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरीक्षण

पोखरा–१७ दोविल्ला स्थित सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमीको मैदान निरिक्षण गर्दै राखेपका सदस्य एवं खेल व्यवस्थापन समितिका संयोजकसहित सहारा क्लबका पदाधिकारीहरु। तस्बिर सौजन्यः सुदर्शन रन्जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप खेल व्यवस्थापन समितिले पोखरा भित्र निर्माणाधिन खेलकुद पूर्वाधारको अध्ययन सुरु गरेको छ। खेल व्यवस्थापन समितिले शनिबार पहिलो पूर्वाधारको रुपमा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी खेल मैदान अवलोकन गरेर फर्किएको छ।

खेल व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, समितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगायतको टोली अवलोकन गरेर फर्किएको थियो।  

३९ वर्षपछि पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समितिले रग्बीको लागि सहारा एकेडेमीको खेल मैदान उपयुक्त भएको ठहर गरेको छ। ‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भन, ‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ।’  

सहारा एकेडेमीको मैदानमा खेलाडी चेन्जिङ रुम छ। एउटा चेन्जिङ रुम छ। त्यसले पर्याप्त नहुने जनाइएको छ। मैदानलाई लेभल बनाउन आवश्यक पाँगो माटो भरेर सम्याउन समेत संयोजक गुरुङले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ लगायत क्लबका अन्य पदाधिकारीलाई आग्रह गरे। ‘मैदानको लेभल बनाउन माटो भर्ने काम तत्कालै सुरु गरौं।’ संयोजक गुरुङले भने, ‘मैदान तयार भएपछि बाँकी काम विस्तारै तयार हुन्छ।’  

पोखरा रंगशालादेखि सहारा एकेडेमी झण्डै ७ किलोमिटरको दुरीमा छ। बजार क्षेत्रभन्दा केही शान्त वातावरण रहेको छ। मैदान ९० मिटर लम्बाइ र ६८ मिटर चौडाइको छ। रग्बीको ७ (सेभेन्स) हुन्छ। रग्बी पहिलो पटक प्रतियोगितामा समावेश गरिएको हो। सहारा क्लबका अध्यक्ष हरिराम गुरुङले सहारा एकेडेमीको मैदानलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा उपलब्ध गराउने स्पष्ट पारे।

‘राष्ट्रिय प्रतियोगिता मात्रै होइन, प्रतियोगिताको पूर्व तयारीको लागि त प्रशिक्षण गराउन समेत हामील एकेडेमीको मैदान उपलब्ध गराउँछौं।’ उनले भने, ‘तर खेल एकेडेमीको मैदानमा खेलाउनुपर्छ। सधैँ मैदान हेर्ने र पछि वास्तै नगर्ने परिपाटी अहिले हुनुहुँदैन।’

रग्बी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको छ। नेपालले केही दिनअघि मात्रै बंगलादेशमा गएर रग्बी १५ को औपचारिक खेल खेलेर फर्किएको छ। रग्बी खेलप्रतिको चासो उत्तिकै छ। नवौंमा समावेश गरिएको रग्बीलाई कहाँ खेलाउने भन्ने पीरलो उस्तै छ। रग्बीको लागि फुटबल मैदानकै साइजको मैदान आवश्यक पर्छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी ७ (सेभेन्स) खेलाइने छ।

‘पोखरा रंगशालाको फुटबल मैदानमा उदघाटन र समापन गर्ने योजना छ,’ कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने–‘खेलहरु भने कहाँ खेलाउने भन्ने समस्या छ।’ रग्बीको लागि पोखरा–३३ भरतपोखरीस्थित शिशुकल्याण स्कुलको खेल मैदानलाई दीर्घकालीन मैदान बनाउने विषयमा समेत छलफल अगाडि बढाइएको छ।

रग्बीको लागि प्रशिक्षणस्थल नै छैन्। प्रशिक्षणको लागि फुटबल मैदान नै आवश्यकता पर्ने हुदाँ फुटबल मैदान खाली भएको अवस्थामा मात्रै प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। प्रशिक्षणकै अभाव छ। आफ्नै मैदान नहुँदा खेलाडी व्यवस्थापनमा कठिनाइ हुने गरेको अनुभव उनको थियो। रग्बीको लाग ७० मिटर चौडाइ र ११० मिटर लम्बाइको मैदान आवश्यक पर्छ। जहाँ रग्बी १५ खेलाइन्छ।  

प्रकाशित: ७ श्रावण २०७९ ०९:३१ शनिबार

रग्बी प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता