खेल

भलिबल संघको निर्वाचन भदौमा

वर्तमान नेतृत्वको कार्यकाल सकिएको दुई वर्ष पूरा भएको नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ। बिहीबार भक्तपुरमा बसेको भलिबल संघ कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गर्ने निर्णय गरेको हो।

‘संघको चुनाव भदौ २२ गतेका लागि तय भएको छ। बाँकी विषयमा छलफल हुँदै छ,’ संघका एक पदाधिकारीले भने। नेपाल भलिबल संघको कार्यकाल सकिएको झन्डै दुई वर्ष बितिसक्दा पनि कोभिड–१९ तथा नयाँ खेलकुद ऐनका कारण संघले निर्वाचन गरेको छैन।

संघको निर्वाचनमा अहिलेकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन्। संघमा अहिलेसम्म अन्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छैनन्। केही अन्य पदाधिकारीले उम्मेदवारी दिने केही सञ्चार माध्यममा जनाए पनि आधिकारिक रूपमा घोषणा गरेका छैनन्।

संघमा आबद्ध ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ। केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक तथा रेफ्री गरी १ सय ३३ जनाले मतदान गर्नेछन्। विवादका कारण बाग्मती प्रदेशको निर्वाचन भने हुन सकेको छैन। 

प्रकाशित: ६ श्रावण २०७९ ०२:३४ शुक्रबार

भलिबल संघको निर्वाचन भदौमा वर्तमान नेतृत्वको कार्यकाल सकिएको